सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालद्वारा एक वर्षमा दुई लाखलाई सेवा प्रदान

भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने बिरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् ।

जसमध्ये एक लाख ४० हजार ७३३ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिए ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भने, ‘‘भेरी अस्पतालप्रति बिरामी र आफन्तको जनविश्वास बढिरहेको छ, कोभिडको समयमा प्रदान गरिएको सेवा सुविधापछि अस्पतालप्रतिको जनविश्वास बढेको पाइएको हो ।’’

बहिरङ्ग लगायतका अन्य सेवा लिनेको सङ्ख्या बढे पनि अन्तरङ्ग सेवा शय्याका कारण सीमित हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याङ्क अनुसार सम्पूर्ण सेवा लिएकामध्ये करिब २५ प्रतिशत अर्थात् ४६ हजार ६३२ जनाले बीमा सेवा लिएका छन् भने आपतकालीन सेवा २८ हजार ५७२ जनाले प्राप्त गरेका छन् ।

पाँच हजार ५९६ जनाले शल्यक्रियामार्फत र सामान्य तीन हजार ९९० जनाले प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक र न्यूरोलगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।

विभिन्न जटिल खालका शल्यक्रिया यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत बिरामीहरु सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

बिरामीको चापलाई दृष्टिगत गर्दै भेरीमा अत्याधुनिक ओपिडी भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माण कार्य जारी रहे पनि इमरजेन्सी कक्ष सञ्चालन भइसकेको छ ।

१५० शय्याको हालको अस्पताल स्तरोन्नति भई ३५० शय्याको पु¥याउने तयारी गरिएको छ । नयाँ भवन निर्माण भए पनि पुरानो भवन जीर्ण भएका कारण थप भवन निर्माणका लागि माग गरिएको छ । भेरीमा बढ्दो बिरामीको चापसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:२९