अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा विशेष अदालत काठमाडौंमा १६२ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत आर्थिक वर्ष २०७९–०८० मा अख्तियारले ती मुद्दा दायर गरेको हो ।
दायर गरिएका मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । अख्तियारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दायर गरिएका मुद्दामा गैरकानुनी लाभहानीसँग सम्बन्धित ६४, घुससँग सम्बन्धित ३२, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २७ र गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित १३ वटा रहेका छन् ।
यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित आठ, राजस्व हिनामिनासँग सम्बन्धित सात र अन्य विविध विषयसँग सम्बन्धित ११ मुद्दा पनि दायर गरिएको छ । गैरकानुनी लाभहानी मुद्दामा ४४२, घुस मुद्दामा ४६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी मुद्दामा १५०, गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा २९, नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा आठ, राजस्व हिनामिना मुद्दामा ४६ र अन्य विधिध मुद्दामा ३९ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
प्रतिवादीमध्ये एकजना विशिष्ट श्रेणीका कर्मचारी, ३५५ जना अन्य कर्मचारी, १७८ जना बिचौलिया– मतियार र २२६ जना निर्वाचित तथा मनोनीत पदाधिकारीहरु रहेका छन् । ‘प्रतिवादीहरुबाट एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग दाबी गरिएको छ,’ अन्तियारका प्रवक्ता भोला दाहालले बताए ।
आर्थिक वर्ष २०७९–०८० मा विशेष अदालतबाट ३४१ वटा फैसला प्राप्त भएकोमा आंशिक ठहर र सफाइ पाएका मुद्दामध्ये २३७ वटा मुद्दामा अख्तियारले पुनरावेदन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा अख्तियारले भ्रष्टाचार सम्बन्धी १३१ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं