जुम्लामा नुन सहजै नपाएको भन्दै डिपोमा तोडफोड भएपछि वडामा नुन पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको विषयमा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लालाई बुझिएको र प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरिएको जानकारी दिए ।
उनका अनुसार यो भन्दा पहिला पनि वडामा पठाउने निर्णय भइसकेकाले वडाबाटै वितरण गर्दा मानिसहरू जिल्ला सदरमुकाम आउनुपर्ने र सजिलो भएकाले वडामा नुन पठाउने तयारी गरिएको हो ।
नेपाल साल्ट ट्रेडिङ्ग कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले अब वडाको समन्वयमा वडामै वितरण गर्न कार्यान्वयन गर्ने बताए । उनका अनुसार लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका थिए । उनले नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा भएको बताए ।
प्रजिअ घिमिरेले पनि नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको र नागरिकलाई सहज नुन पाउने व्यवस्थापन गर्न स्थानीय सरकारसँग समन्वय भइरहेको बताए । उनले नुन अभाव नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक रहेको छ ।
गत वर्ष जुम्लाका लागि दुई हजार ५०० क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव देखिँदैन । हाल जुम्ला सदरमुकाम खलङ्गा, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका नागरिक आएर नुन वितरण गरिँदै आएका छन् ।
पातारासीमा नुनको डिपो राख्न सुनुवाइ भएन
नुन लिनका लागि भन्दै दुई तीन दिनसम्म विभिन्न चरणमा माग राख्दै आएपनि कार्यान्वयन हुन सकेको छैन । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले डिपो नहुँदा पातारासी गाउँपालिकाले माथिल्लो निकायसम्म पटक–पटक पहल गरे पनि कार्यान्वयन हुन नसकेको बताइन् । पातारासी गाउँपालिकामा राजमार्गभन्दा टाढा भएकाले सरकारले नुन र खाद्यान्नको विषयमा ध्यान दिनुपर्ने उनले बताइन् ।
सत्यपाटी संवाददाता । जुम्ला