सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंको फोहोर विसर्जनमा अवरोध कायमै

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरिएको हो ।

मंगलबार पनि बिहानैदेखि स्थानीयवासी सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ ।

हिजोदेखि पुनः स्थानीय आन्दोलित भएका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।

‘स्थानीयवासी बिहानैदेखि सडकमा आएर बाटो बन्द गरेका छन् । सडकमा यति बेला बन्दकर्ता १०–१२ जना देखिएको छ,’ नुवाकोट प्रहरी स्रोतले भन्यो, “आज काठमाडौंबाटै फोहोर बोकेका गाडी यता आएका छैनन् ।’

धुनीबेँसी–१ र ककनी–२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फोहोर बोकेर हिजो त्यसतर्फ गएका गाडी त्यहीँ सडकछेउमा पार्किङ गरेर राखिएका छन् ।

फोहोर बोकेका ५०–६० गाडी त्यसरी पार्किङ गरेर राखिएका प्रहरीले जनाएको छ । ‘बन्दकर्ता भएका ठाउँमा फोहोरका गाडी छैनन् । बन्दकर्ता रहेका स्थानभन्दा ५०० मिटरजति परबाट सडकछेउमा गाडी पार्किङ गरिएको छ,’ प्रहरी स्रोतले भन्यो ।

स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङको भनाइ छ । संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए ।

‘हामीलाई अब धेरै गाह्रो भयो, कि यहाँ फोहोर फाल्न रोक कि हामीलाई उचित व्यवस्थापन गर भन्ने स्थानीयको माग छ,’ उनले भने, ‘यसअघिका सहमति पनि कार्यान्वयन भएको छैन । स्थानीयलाई धेरै गाह्रो भएको छ ।’

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १०:४६