सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको होलियाबाट पूर्वमन्त्री यादव पक्राउ

लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । चेक वाउन्सको मुद्दामा जारी भएको पक्राउ पुजीका आधारमा उनलाई आइतबार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए । लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १३:५९