सूचनाको शक्ति - The Power Of Information

        

मेयरकप नेपालगन्ज साइकल दौडमा यादवलाई उपाधि


बाँके । नेपालगन्ज र प्रथम मेयर कप साइकल दौड प्रतियोगिता–२०७५ नेपालगन्ज साइक्लोथनको उपाधि बिमलेश कुमार यादवले जितेका छन् । उनले निर्धारित ३७ किलोमिटर दुरी पुरा गर्ने क्रममा अन्य प्रतियोगीहरुलाई पछि पार्दै नगद रु १५ हजार पनि हात पारे । यसमा सञ्जय सोनकर दोस्रो तथा दीपक मल्ल तेस्रो भए । दुवैले क्रमशः १० हजार र पाँच हजार नगद प्राप्त गरे ।
प्रोफेसनल राइडर्सहरु मात्र सहभागी हुने प्रावधान रहेको ३७ किलोमिटर दुरी महिला तर्फ साया थापाले मात्र पुरा गरिन् । उनलाई प्रशंसापत्र प्रदान गरियो । नेपालगन्ज बन कार्यालय अगाडिदेखि सुरु भएको साइक्लोथन कोहलपुर चौराह पुगेर फेरि सोही स्थानमा टुंगिएको थियो । साधारण साइकलतर्फ निर्धारित २० किलोमिटर दुरी पुरा गर्नेक्रममा पुरुषतर्फ मनोज धोबी, जंग थारु र सतिस थारु तथा महिलामा पार्वती सार्की, टीका खड्का र ममता गुप्ताले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
उनीहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगदले पुरस्कृत गरियो । ६ किलोमिटर ट्राइसाइकलतर्फ यमबहादुर खत्री, तेजबहादुर राना र जंग कामीले शीर्ष तीन स्थान हासिल गरे । साइक्लोथनमा अप्रतियोगिका रुपमा रहेका मोटिभेसनल साइक्लिस्ट भरत शाह र अष्ट्रेलियन फिल डेभिसलाई बिशेष सम्मान गरियो । विजयी साइक्लिस्टहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली र नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष केशरबहादुर आलेले नगद, पदक र प्रमाणपत्रले सम्मान गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपालगन्ज साइक्लिङ क्लबले संयोजन गरेको साइक्लोथनमा १७५ जना सहभागी थिए । यस प्रतियोगितालाई स्तरोन्नति गर्दै बर्षेनी सञ्चालन गरिने मेयर राणाले प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी केसीले खेल गतिविधिले नेपालगन्जलाई साँच्चिकै खेलकुद हब बनाउन मद्दत गरेको बताए । क्रियटिभ ह्याण्ड्सले गतबर्ष चैतमा आयोजना गरेको नेपालगन्ज साइक्लिङ रेशबाट प्रेरित भइ यसपटक भव्य बनाउने सोंच पुरा भएकोमा कार्यक्रम संयोजक गगन थापाले खुशी व्यक्त गरे ।
साइक्लोथन औपचारिक सुरु हुनुअघि मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी लगायत बिशिस्ट अतिथिहरुले दुई किलोमिटर साइक्लिङ गरेका थिए । मेयर राणा र प्रजिअ केसी प्रतियोगिताको उदघाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमसेर राणा, बाँकेका प्रजिअ रमेश केसी, उपमेयर उमा थापा, शसस्त्र प्रहरी बलका एसपीद्वय फणीन्द्रराज पौडेल, शैलेन्द्र भन्डारी, नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष केशर आले लगायतले जिल्ला बन कार्यलय अगाडिबाट बिपीचोकसम्म पुगेर पुनः बन कार्यलय फर्किएर गरेका थिए ।
सोही प्रतियोगिताको पुरस्कार बितरण समारोहमा कार्यक्रम सम्योजक गगन थापाले स्वागत मन्तब्य र प्रजिअ रमेश केसीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका मेयर डा.राणाले अब नेपालगन्जमा साइकल लेनका बिषयमा सोच्नुपर्ने आवश्यकता देखिएको बताउँदै साइकल संस्कृतिको बिकास भए हरित नेपालगन्ज अभियानलाई सहयोग पुर्याउने भन्दै अर्को बर्ष अझ भब्यरूपमा कार्यक्रम आयोजना गरिने बताए ।

प्रकाशित मिति : १० असार २०७५, आइतवार ०४:२७