उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानीतलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार’ यस वर्ष बाँकेका उपन्यासकार खरेलको उपन्यास ‘रानीतलाउ’लाई प्रदान गरिने भएको हो ।
उपन्यासकार खरेलले सुमन तिम्सिनाले अनेसासअन्तर्गत स्थापना गर्नुभएको यो पुरस्कार यसपटक उनको उपन्यास ‘रानीतलाउ’लाई दिने घोषणा गरिएपछि आफू उत्साहित भएको बताइन् । साहित्यकार खरेलले ‘रानीतलाउ’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी छन् ।
उनले यो उपन्यासमार्फत समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको देखिन्छ । वरिष्ठ कठाकार सनतकुमार रेग्मीले सामाजिक अन्तर्विरोध र सङ्घर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर ‘रानीतलाउ’ उपन्यासको विषयवस्तु बुनिएको बताए ।
उनले समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाजको बाटो देखाउन सक्षम भएकी खरेलले सर्वाेत्कृट पुरस्कार जित्न सफल भएको बताए । साहित्यकारहरुका अनुसार खरेलको यस उपन्यासले पवित्र र दृढ इच्छाशक्ति सर्वशक्तिमान हुन्छ भन्ने कुरालई आकर्षक ढङ्गले उठाएको छ ।
सबैभन्दा ठुलो कुरा उपन्यासमा मानव आत्माको कुनै जात हुँदैन भन्ने कुरालाई सुन्दर ढङ्गले उठाइएको छ । यस्तै, उपन्यासकार खरेलका ६ वटा कृति प्रकाशित भइसकेका छन् । उहाँका प्रकाशित कृतिहरुमा ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘रानी तलाउ’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथासङ्ग्रह, ‘क्षितिज पारिका शब्दहरु’ गीतिसङ्ग्रह र ‘कामना’ गीति एल्बम छन् ।
सत्यपाटी संवाददाता । बाँके