सूचनाको शक्ति - The Power Of Information

        

‘कहिले सुध्रिन्छ नेपालगन्जको विद्युत सेवा ?’


बाँके । गत जेठ ४ गते, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले नेपालगन्जको विद्युत आपूर्तिमा देखिएको समस्या हटेको बताए । उनले भनेका थिए, ‘नेपालगन्ज र आसपासका क्षेत्रका लागि छुट्टै ब्यवस्था गरेर भए पनि समस्याको समाधान गर्ने विश्वास दिलाउँछु ।’
समस्या समाधान भयो, विद्युत आपूर्ति नियमित छ । विगतका वर्षहरुमा जस्तो विद्युत आपूर्तिमा समस्या देखिएको छैन । तर आपूर्तिमा देखिएको समस्या सुल्झिँदा भोल्टेजमा विगतको तुलनाभन्दा बढी समस्या देखिएको छ । पंखा घुम्छन् हावा दिँदैनन् । पंखाको घुमाई भनिसाध्य छैन । बत्तिको महसुल बढाउन बाहेक अरु काम छैन ।
विद्युत आपूर्तिमा मात्रै कुलमानले ध्यान दिए । तर भोल्टेजमा उनले चलाखी गरे या नागरिकलाई यस विषयमा जानकारी छैन भन्ने सोंचका साथ गुपचुपमै राखे । उनलाई भेट्न गएको प्रतिनिधि मण्डललाई पनि आपूर्ति नियमित भए पुग्यो, भोल्टेजका विषयमा जानकारी नै भएन ।
लोडसेडिङ अन्त्य भएको भनिए पनि बाँकेको नेपालगन्ज लगायत आसपासका क्षेत्रमा विद्युत आपूर्तिमा बेलाबखत समस्या देखिए पनि विगतभन्दा सुधार भएको सेवाग्राहीहरु बताउँछन् । तर सेवाग्राहीहरु सन्तुष्ट भने छैनन् । किनकी भोल्टेजको समस्याका कारण कतिपयका पानी तान्ने मोटर जलेर बाधा भयो भने कतिपयका घरमा जडान गरिएका अन्य विद्युतिय सामग्री नष्ट भएका छन् ।
‘सेवा नियमित हुँदा समस्या सकियो भनेर बुझेका हामीहरुले भोल्टेजले त दिनदिनै विद्युतिय उपकरण जलेर नष्ट हुन थालेपछि थप समस्या व्यहोर्नुपरेको छ,’ नेपालगन्ज–४ का दिपक शाहीले सत्यपाटीलाई भने । अत्याधिक गर्मी हुने बाँकेमा कम विद्युत भोल्टेजले सेवाग्राहीलाई समस्या बनाएको छ । जसका कारण बाकेबासीले निकै समस्या झेल्दै आएका छन् ।
‘कम विद्युत भोल्टेजले एकातिर विद्युतिय उपकरण विग्रने समस्या छ भने अर्कातर्फ अत्याधिक गर्मीले सास्ती भोग्नुपर्ने अवस्था छ,’ शाहीले सत्यपाटीलाई भने । निर्देशक घिसिङले बाँकेको समस्या पाँच महिनाभित्रमा दिर्घकालिन रुपमै समाधान हुने बताए पनि अहिलेसम्म कुनै प्रगति भएको भने देखिँदैन ।

‘सेवा नियमित हुँदा समस्या सकियो भनेर बुझेका हामीहरुले भोल्टेजले त दिनदिनै विद्युतिय उपकरण जलेर नष्ट हुन थालेपछि थप समस्या व्यहोर्नुपरेको छ,’

तर घिसिङले विद्युत समस्या समाधानका लागि अब भारतको भर पर्न नपर्ने बताउँदै नेपालकै विद्युतको ब्यवस्था गरेर बाँकेको समस्या समाधान गरिने बताए पनि नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले भने नेपालगन्जको विद्युत समस्याको समाधानका लागि कुनै चासो देखाएको छैन । केहीदिनदेखि गर्मी ह्वात्तै बढेको नेपालगन्जमा कम विद्युत भोल्टेजका कारण जनजीवन प्रभावित भएको छ ।
अत्याधिक गर्मीका कारण दिउँसो नेपालगन्जका चोक, गल्ली र सडकमा मानिसको चहलपहल एकदमै कम देखिन्छ भने गर्मी बढेसँगै विद्युत भोल्टेज अत्यन्तै कम हुँदा नेपालगन्जबासीलाई थप सकस बनाएको छ । लो भोल्टेजका कारण सर्वसाधारणलाई मात्र नभएर विद्युतबाट सञ्चालित उद्योग, कलकारखाना र सञ्चार गृहलाई समेत असर गरेको छ ।
विद्युत सम्बन्धी कुनै पनि जानकारी या सूचना लिनुपरेमा सर्वसाधारणलाई विद्युतको सूचना पाउनै कठिन हुने गरेको छ । ‘भोल्टेज छैन, कसरी मेसिन चलाउने ?’ एक उद्योगका प्राविधिकले भने, ‘हामीले विद्युत कार्यालयमा बुझ्न खोज्दा कहिले फोन उठ्दैन त कहिले सही सूचना पाइँदैन । कहिले सुध्रिन्छ नेपालगन्जको विद्युत सेवा ?’
विद्युत प्राधिकरण वितरण नेपालगन्ज वितरण केन्द्र र नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जमा जति फोन लगाए पनि रिसिभ हुँदैन उनले नाम नबताउने सर्तमा सत्यपाटीलाई भने । उनले सर्वसाधारणलाई सूचना नदिएर विद्युत प्राधिकरणले सूचनाको हकबाट बन्चित गर्न खोजेको आरोप लगाए ।
विद्युत प्राधिकरणले ‘नो लाईट’ को जानकारी दिन ब्यवस्था गरेको टेलिफोन लाइन अधिकांश समय व्यस्त नै हुन्छ । जसका कारण सर्वसाधारणले विद्युत कतिखेर आउँछ भन्ने जानकारी पाउन सकिराखेका छैनन् भने गर्मीले आहत बनाइरहेको बेला छिनछिनमा विद्युत जाँदा सर्वसाधारणलाई सास्ती भोग्न परेकै छ ।
त्यसैमा विद्युत कहिले आउँछ ? भन्ने समयमा जानकारी नपाउँदा मानसिक तनाव हुने गरेको छ । विद्युत प्राविधिकरण वितरण केन्द्रको ०८१–५२०२४२ र ५२०२४३ तथा विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयको ०८१–५२१४७९ अधिकांश समय व्यस्त हुन्छन् । यसरी ब्यस्त भएपछि सूचना पाउन नसक्दा अन्यौलमा पर्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । यस विषयमा नेपालगन्ज वितरण केन्द्रका प्रमूखको ०८१–५२०२४७ मा सत्यपाटीले जानकारी लिन खोज्दा समेत फोन उठेन ।
बत्ति जाने वित्तिकै प्राधिकरणका कर्मचारीले फोन होल्डमा राख्ने गरेको सर्वसाधारणहरुको आरोप छ । विद्युत नहुँदा काम रोकिएपछि विद्युतको जानकारी लिन खोज्दा फोन कहिल्यै नलाग्ने गरेको नेपालगन्ज ९ का नविन गिरीले सत्यपाटीलाई बताए । उनले भने, ‘विद्युत कतिखेर आउँछ भन्ने जानकारी पाउनसके पनि धेरै राहत हुने थियो । तर, बत्ति जाने वित्तिकै विद्युत प्राधिकरणको ‘नो लाइट’ फोन होल्डमा राखिन्छ की के हो कहिल्यै लाग्दैन ।’

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०७:४७