हरि वास्तोला । किटुबस्ती (दैलेख) । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुराँको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १३० किलोमिटर पश्चिमतर्पm दैलेख कालीकोट सडकखण्डको छेउमै रहेको ओढारमा चिया, तरकारी, माछा मासुलगायत विभिन्न परिकार बनाएर बिक्री गर्दै आएको ७३ वर्षीया गंगादेवी पुलामीले बताए । उनका अनुसार स्थानीय बासिन्दा तथा यातायातका साधनमा आउने ग्राहकसमेत सो स्थानमा रोकेर खाजा खानुको साथै फोटो खिच्दै रमाएको देख्न पाउँदा आफूलाई रमाइलो र खुशी लाग्ने गरेको छ ।
‘ढुंगे ओढारमुनि पानीबाट पनि ओत लागिएकै छ, अहिलेसम्म सर्पलगायतका विषालु किरा तथा जंगली जनावरले कुनै पनि दुःख दिएका छैनन्,’ उनले भने, ‘ओढारमा आउने ग्राहकलाई कालो चिया रु १५ मा, दूध चिया रु २० मा बेच्ने गर्छु ।’ २०४१ सालदेखि नजिकै रहेको किटु बस्तीबाट खोलामा पिसानीको साधन घट्ट सञ्चालन गरेर स्थानीयलाई सुविधा दिनुका साथै आयआर्जनका लागि खोलामा झरेका पुलामी दम्पतीका लागि अन्ततः ढुंगे ओढार बासस्थानका रुपमा परिणत भएको हो ।
ओढारको अघिल्लो भाग सडक छेउमा जस्तापाताले छाएको छानामुनि राखिएको काठको बेञ्चमा ग्राहकलाई बस्ने व्यवस्था मिलाइनुका साथै माटोको चुलोमा दाउरा प्रयोग गरेर पकाएको चिया र खाजाको स्वाद ग्राहकलाई चखाउनु गंगादेवीको दैनिकीनै बनेको छ । दैलेख कालीकोट बाटो २०५१ सालमा खोलेपछि विस्तारै घट्टको प्रयोगमा कमी आएसँगै अन्ततः एक वर्षयता पूर्णरुपमा नै बन्द भएको ७५ वर्षीय भुवानीसिंह पुलामीले बताए ।
ओढारमा हामी एक्लै हुँदैनाँै छोरा बुहारी, छोरी, नातिनातीना सबैले रेखदेख सहयोग गर्दे आएको बताउँदै उनी भन्छन्, ‘गर्न सकेसम्म गर्ने र ओढारमै मर्ने सोच बनाएका छौँ ।’ दुई छोरा दुई छोरीका साथै आठ नातिनातिनाका अभिभावक पुलामी दम्पती नयाँ आधुनिक घर भएर पनि ओढारमा नै बस्न रुचाउने गरेको रारा फेवा पर्यटन प्रवद्र्धन अभियानका साथ सो स्थानमा पुगेको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको टोलीलाई कान्छा छोरा अक्कलबहादुर पुलामीले जानकारी दिए ।
‘बुबा आमा यही रमाउनुभएको छ, विभिन्न पर्वमा पनि यही बस्ने भएपछि परिवारसहित आफन्त एवं इष्टमित्र यही आउने गरेका छन्,’ उनले भने, ‘उहाँहरू यही ओढारमा रमाउने गरेका कारण पनि चाडपर्वमा हामी सबै यही आउने गरेका छौँ ।’ पुलामी दम्पती ओढारमा बसे सौर्यबत्ती (सोलार)ले आफू बसेको ठाउँलाई उज्यालो बनाउनुका साथै सात दशक उमेरमा पनि परम्परालाई जीवन्त राख्दै ओढारमा बसेर हँसिलो मुहारका साथ व्यवसाय गर्नु समाजको लागि अनुकरणीय भएको भ्रमण टोलीका संयोजक कालीदास सुवेदी बताउँछन् । सुविधा भोगी प्रवृत्ति बढ्दै गएको वर्तमान अवस्थामा घर परिवारभन्दा पनि ओढार रोज्नु र त्यही रमाउनु आपैmँमा अनुकरणीय भएको भ्रमण टोलीमा सहभागी ६३ वर्षीया उमा बाँस्तोलाको धारणा रहेको छ । रासस
।