सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।

नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रु ९५ लाख ४६ हजार ९०० बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन् । नगरपालिकाले रु ४० लाख दिगो विकास समाजले रु ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ । भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ ।

एक–दुई दिनमा मोतीराम सहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा छन् । नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँच–छ महिना बिताउनु नपर्नेमा उनी खुसी छन् । नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताए ।

‘यस वर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षित हुन्छन्,’ उनले भने, ‘स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौँदेखिको समस्या समाधान भएको छ ।’ सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त छन् । घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उनको रहर छ ।

‘हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौँ,’ विकले भने, ‘त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ । घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ ।’ उनले नगरपालिकाले सहयोग गरेर आवास निर्माण गरिरहेको बताए ।

आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ छ । ‘आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन । खानेपानीका हाते नल्कामा बाढीले क्षति पुर्याउँछ,’ उनले भने, ‘खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ ।’ वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताइन् ।

‘बर्खाको समयमा हुने किरा फट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ । बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्,’ उनले भनिन्, ‘घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुङ्गा आवश्यक पर्छ । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ ।’

घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ छ । नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त भएका छन् । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उनले बताए ।

‘बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ । आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैन्थ्यो,’ लालबहादुरले भने, ‘यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षित हुने भयौँ ।’ भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए ।

उनले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताए । ‘चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । शौचालय, खानेपानी लगायतको काम बाँकी छ । आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ,’ नगर प्रमुख चौधरीले भने, ‘बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ । यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ ।’

उनले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताए । ‘हाम्रो पीडा कान्द्रा हो । कान्द्रा नियन्त्रण गर्नसके आधा दुख सकिन्छ,’ नगर प्रमुख चौधरीले भने, ‘त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र संघीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।’

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १६:३५