सूचनाको शक्ति - The Power Of Information

        

पर्यटनमा १२ योजनालाई २४ करोड बजेट, युद्ध संग्रहालयदेखि मानसरोवर उद्यान स्थापनासम्म


रेनुका गिरी । बुटवल । पाँच नम्बर प्रदेश सरकारले पर्यटनलाई समृद्धिको आधारको रुपमा राखेको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले विदेशी र स्वदेशी गरी थुप्रै पर्यटक आकर्षित गर्न सकिने भन्दै त्यो सम्भावनाको भरपुर उपयोग गर्ने नीति लिइने बताए ।
बजेटमार्फत मुख्यमन्त्रीले वि.सं.२०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न बुद्धस्थलहरु र अन्य पर्यटकिय स्थलको लागि सार्वजनिक नीजि साझेदारीमा सम्भाव्यता अध्ययन गरी पर्यटकीय बस सञ्चालन गर्ने बजेटमा उल्लेख छ । यसको लागि ५ करोड बजेट छुट्याइएको छ ।
बजेटमा बुद्धस्थलहरुलाई जोड्न मोनो रेलको योजना पनि अघि सारिएको छ । ‘तिलौराकोटबाट लुम्बिनी, एयरपोट हुँदै रामग्रामसम्म विद्युतिय मोनोरेलको अध्ययन गरिनेछ,’ मुख्यमन्त्री पोखरेलले भने ‘प्राविधिक र व्यवसायीक रुपमा सम्भाव्य भइ संघीय सरकारसँग समपुरक अनुदानमा निर्माण सुरु गरिनेछ ।’ प्राचिन कपिलबस्तु विकास आयोजना सञ्चालनका लागि पनि संघीय सरकारसँग समपुरक अनुदानको लागि अनुरोध गरिने उनले बताए ।

‘तिलौराकोटबाट लुम्बिनी, एयरपोट हुँदै रामग्रामसम्म विद्युतिय मोनोरेलको अध्ययन गरिनेछ,’ मुख्यमन्त्री पोखरेलले भने ‘प्राविधिक र व्यवसायीक रुपमा सम्भाव्य भइ संघिय सरकारसँग समपुरक अनुदानमा निर्माण सुरु गरिनेछ ।’

आर्थिक वर्ष २०७५/७६ को बजेटमा विभिन्न १२ वटा पर्यटनका कार्यक्रमलाई २ करोडका दरले बजेट उपलब्ध गराइएको छ । २ करोडका दरले बजेट उपलब्ध गराइएका कार्यक्रमहरुमा रोल्पामा युद्ध संग्रालय स्मारक, दाङको दंगीशरणमा थारु सांस्कृतिक पार्क र ग्राम, बुटवलको रामापिथेकस पार्क, बाँकेमा मानसरोवरको प्रतिकात्मक स्वरुपसहितको उद्यान स्थापना गर्ने योजना रहेको छ ।
त्यसैगरी रुरु क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास, दाङको धारापानी पाण्डवेश्वर धामको भौतिक विकास गर्न पनि २–२ करोड रुपैयाँ छुट्याइएको छ । पाल्पाको श्रीनगर, पाल्पाकै नुवाकोट, दाङको घोरदौरा र बर्दियाको ठाकुरद्वारामा सांस्कृतिक डबली निर्माणको लागि पनि २ करोडका दरले बजेट विनियोजन भएको छ । २ करोडकै कार्यक्रममध्ये दाङको तुल्सीपुर र रुपन्देही तिलोत्तमाको बनस्पती उद्यान स्थापना गर्ने कार्यक्रम पनि परेको छ ।
यसैगरी जितगढी किल्लाको गुरुयोजना निर्माण, संरक्षण र पूर्वाधार विकासको लागि १ करोड ५० लाख, प्युठानको स्वर्गद्वारीको भौतिक विकास र केबलकारको अध्ययनको लागि १ करोड २५ लाख, रुकुमको तक्सेरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एक करोड, पाल्पा दरबारमा प्रादेशीक संग्रालयको लागि ५० लाख रुपैया विनियोजन गरिएको छ । पाल्पामा मगर संग्रालय र दाङमा थारु संग्रालयका लागि पनि रकम छुट्याइएको छ । त्यसैगरी विभिन्न सांस्कृतीक तथा पुरातात्विक स्थलको मर्मत संभार र पुनर्निमाणको लागि २ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १२:४०