सूचनाको शक्ति - The Power Of Information

        

तिलोत्तमामा सिचाई प्रणाली आसपासका जग्गाहरु बाँझो राख्न नपाइने व्यवस्था


रेनुका गिरी । बुटवल । तिलोत्तमा नगरपालिकाले सिचाई प्रणाली आसपासका जग्गाहरु बाँझो राख्न नपाउने व्यवस्था गर्न लागेको छ । नगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा जग्गाहरु बाँझो राख्न नपाउने व्यवस्थालाई कार्ययोजनासहित कार्यन्वयनमा लगीने उल्लेख छ ।
तिलोत्तमामा १६ र ३६ मौजा सिचाई प्रणाली सञ्चालित छ । बुधबार भएको तेस्रो नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । नीति कार्यक्रममा खाली जमिनमा केरा, मकै, घाँस, फूल, नर्सरी सञ्चालन लगायतका कृषिजन्य क्रियाकलाप सञ्चालनको लागि प्रोत्साहित गरिने उल्लेख छ ।
नगरभित्रको कृषियोग्य जमिनको पहिचान र संरक्षण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति तय गर्ने नगरसभामा नगरप्रमुख बासुदेब घिमिरेले बताए । तिलोत्तमाले ‘एक घर एक करेसाबारी : पकेट क्षेत्रमा व्यवसायीक तरकारी’ भन्ने नारा तय गरेको छ ।
जस अनुसार वडा नम्बर १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गर्ने र अन्य वडामा ‘एक घर एक करेसाबारी’को नीति अवलम्बन गर्दै आर्गेनीक तरकारी उत्पादनमा विशेष अभियानका साथ लाग्ने नीति तथा कार्यक्रममा उल्लेख छ । एक वर्षभित्र आत्मनिर्भर नगरपालिका घोषणा गर्ने तयारी पनि तिलोत्तमाले गरेको छ ।
शिक्षातर्फ सामुदायीक विद्यालयको आकर्षण बढाई तिन वर्ष भित्र सामुदायीक र संस्थागत विद्यालयको दुरी समान गराउने, टिनको छाना भएका विद्यालयमा फल्स सिलिङ राख्ने व्यवस्था सुरु गर्ने नगरप्रमुख बाशुदेब घिमिरेले बताए ।
तिलोत्तमा १० को रोहिणी नदि उत्तर तर्फको क्षेत्रमा तिलोत्तमा उद्योग ग्राम सञ्चालनको लागि प्रक्रिया अघि बढाउने, तिलोत्तमाको प्रवेशद्वार योगीकुटी र कोटीहवामा बुद्ध मुर्तिसहितको प्रवेशद्वार निर्माण नगरभित्रका राजमार्ग र सहायक राजमार्गमा बुद्धमुर्तिहरु राखिने नगरसभामा बताइएको थियो ।
त्यस्तै ग्रिन तिलोत्तमा क्लिीन तिलोत्तमा भन्ने नाराका साथ हरियाली प्रवद्र्धन अभियानलाई टोल विकास संस्था मार्फत बस्तीमा पुर्याइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १०:५७