सूचनाको शक्ति - The Power Of Information

        

नवनियुक्त अध्यक्ष शाहलाई भेरी अस्पतालद्वारा स्वागत

भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई अस्पतालले सोमवार स्वागत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई आइतवार अध्यक्षमा मनोनित गरेको थियो । आज अस्पतालमा आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई अस्पतालले स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नवनियुक्त अध्यक्ष शाहलाई दलिय आँखाबाट माथि उठेर काम गर्न सुझाव दिए ।

उनले अस्पतालको विकासलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरे । उनले अस्पतालको विकासमा उपमहानगरपालिकाले गर्न सक्ने पहलका लागि सधैं सकारात्मक रहेको उल्लेख गरे ।

यस्तै स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष शाहले आफ्नो पहिलो प्राथमिकता अस्पतालको सेवालाई स्तरीय र गुणस्तरीय बनाउने रहेको बताएका छन् ।

उनले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफुले काम गर्ने उल्लेख गरे । उनले अस्पतालमा समस्या भएपनि त्यसको व्यवस्थापन गरिनु पर्ने भन्दै त्यसका लागि आफु प्रतिबद्ध रहेको बताए । उनले आफ्नो कार्यकाल सकिदा अस्पताललाई यो भन्दा राम्रो बनाउने बिश्वास दिलाए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ फिजिसियन डा संकेत रिसालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभागीय प्रमुखहरु, चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ लगायतले अध्यक्ष शाहलाई स्वागत गरेका थिए ।

गएको जेठ १२ गते प्रमोद धिताल नेतृत्वको समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १८:१८