सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

मौसम थाहा हुने भएपछि नेपालगन्जबाट हुने उडान सुरक्षित

नेपालगन्ज आन्तरिक हवाई उडानको हब नै भएकाले पहाडी र हिमाली जिल्लामा हुने उडानलाई सहज सरल र सुरक्षित बनाउन मौसम पूर्वानुमान डिजिटल प्रणाली जडान गरिएको छ ।

नेपालगन्जबाटै पश्चिम नेपालका सबै जिल्लाको मौसम पूर्वानुमान जानकारी हुन थालेको छ ।

नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी गराउने डिजिटल प्रणाली जडान गरिएपछि विहानै यहाँबाट पश्चिम नेपालको दिनभरिको मौसमबारे जानकारी हुन थालेको हो ।

पश्चिम नेपालका विभिन्न पहाडी र हिमाली जिल्लामा हुँदै आएको हवाई उडानलाई सहज र सुरक्षित बनाउन नेपालगन्ज विमानस्थलमा मौसम पूर्वानुमान जानकारी दिने डिजिटल प्रणाली जडान गरिएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार नागरिक उड्डयन प्राधिकरण, प्राधिकरणको मौसम पूर्वानुमान महाशाखा र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ ।

यसअघि मौसम पूर्वानुमान सम्बन्धी जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले दिने गरेको थियो भने अहिले नेपालगन्जमै डिजिटल प्रणाली जडान गरिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट सो जानकारी दिन थालिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका वरिष्ठ मौसम विज्ञ शुभाष रिमालले नेपालगन्ज आन्तरिक हवाई उडानको हब नै भएकाले पहाडी र हिमाली जिल्लामा हुने उडानलाई सहज सरल र सुरक्षित बनाउन मौसम पूर्वानुमान डिजिटल प्रणाली जडान गरिएको बताए ।

उनले नागरिक उड्डयन कार्यालयको बारम्बारको आग्रहमा सो प्रणाली सञ्चालनमा ल्याएर हरेक दिन विहान साढे ५ बजेदेखि ६ बजेसम्म विभिन्न एअरलाइन्स लगायत सम्बद्धलाई मौसम पूर्वानुमानको जानकारी गराउने गरिएको बताए ।

वरिष्ठ मौसमविज्ञ रिमालले भने, ‘विहान दिनभरिको मौसम सम्बन्धी जानकारी पाएपछि एअरलाइन्सलाई उडान तालिका बनाउन तथा उडान गर्न सहज र सरल हुन थालेकोे छ । यसले हवाई उडानलाई सुरक्षित बनाउन पनि सहयोग गर्नेछ ।’

यो प्रणालीमार्फत सुर्खेत, हुम्ला, जुम्ला, मुगु, रुकुमको सल्ले, बाजुरा, बझाङ्ग लगायत विभिन्न ठाउँको दिनभरिको मौसमी जानकारी प्राप्त भइरहेको छ ।

देशमै सबैभन्दा बढी आन्तरिक उडान हुने विमानस्थलमध्ये प्रमुख मानिएको नेपालगन्ज विमानस्थललाई विस्तार गर्ने अभियान अन्तर्गत करिब तीन अर्ब रुपैयाँको लागतमा टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका अनुसार पार्किङक्षेत्र निर्माणसँगै विमानस्थलको धावनमार्ग विस्तारको काम पनि केही समयअघि मात्रै पूरा गरिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०६:३८