सूचनाको शक्ति - The Power Of Information

        

केबुलकारमा ७५ यात्रु १० घण्टा रोकिँदा…

इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ ।

अग्नि नियन्त्रक र प्रहरी परिचालन गरी ७५ जनालाई ‘सुरक्षित र स्वस्थ’ अवस्थामा उद्धार गरिएको छ । विद्युतीय समस्याका कारण प्रणाली अवरुद्ध भएपछि केबुलकारमा रहेका आगन्तुकहरू ‘करिब १० घण्टा’सम्म फसेका थिए ।

करिब चार हजार मिटर (१३,१२० फिट)को उचाइमा रहेको प्रणालीको सबैभन्दा माथिल्लो टर्मिनलमा फसेका ४८ जनालाई सबैभन्दा पहिले सुरक्षित स्थानमा ल्याइएको क्विटो नगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसपछि केबुलकारको तारमा रोकिएका अन्य १७ जनालाई केबुलकारबाट नजिकैको सुरक्षित स्थानमा झारिएको थियो भने अन्य १० जना सेवा पुनः सुरु भएपछि भुइँमा आएका थिए । उक्त केबुलकार दुई टर्मिनलहरूबीच २.५ किलोमिटर (१.५ माइल)को दूरीमा फैलिएको छ भने सबैभन्दा कम उचाइ समुद्र सतहबाट ३१ सय मिटरमा रहेको छ ।

नगरपालिकाको ट्वीटर अकाउन्टमा रहेको भिडियो फुटेजमा मानिसहरूलाई केबुलकारबाट सुरक्षित स्थानमा राखिएको देखाइएको छ । बालबालिकासहित अन्य व्यक्तिहरूलाई केबुलकारहरू सुरक्षित रूपमा भुइँमा फर्केपछि कम्बल ओढाएर आवश्यक उपचारका लागि नजिकैको अस्पतालतर्फ पठाइएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ असार २०८०, शनिबार १०:४६