सूचनाको शक्ति - The Power Of Information

        

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

दाङको तुलसीपुरबाट रोल्पाको दलसिँगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

आज (बिहीबार) सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै रा १ ख ८३४ नम्बरको बस गुडिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बुधबार राति आएको वर्षा र हावाहुरीले सडक छेउको बिजुलीको तारमा रुख ढलेको र तार तल झोल्लिएका कारण सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको थियो ।

घटनामा रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको सल्यानका सीडिओ वेदप्रसाद खरेलले जानकारी दिए । उनीहरु दुवै जना बाबु र छोरा हुन् । बसमा २५ जना यात्रु सवार रहेको जनाइएको छ ।

उक्त घटनाकै कारण यतिबेला यहाँको बाटोमा यातायात अवरुद्ध भएको छ । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १२:३०