टाउकोमा टोपी । टोपी बाहिरबाट सेतै फुलेका रौँ देखिन्छन् । हातमा हथौडा लिएर आठ वर्षीय नातीसँगै विभिन्न भाँडाको अविष्कार गर्नु आरन्या बाजेको दैनिकी हो । आरनमा बसेर काम गर्ने भएकाले पनि गाउँमा उनलाई सबैले आरन्या बाजेका रूपमा चिन्छन् । तर उनको नाम हो रघे लुवार । ठाटीकाँध गाउँपालिका २ टोम्टाल्ला, दैलेख ।
उमेरले ७७ वर्षका पुगे पनि कामका आधारमा लुवार युवाको दर्जामा बस्नुपर्छ । उ्नी आरनमा नबसेको दिन सबै काम ठप्प हुन्छ । यो उमेरमा पनि उनलाई आरनमा बस्न कुनै कष्ट हुँदैन । कष्ट त त्यतिबेला हुन्छ, जब भोकभोकै आगोको रापमा जलेर अन्तिममा बालीमा चित्त बुझाउनुपर्छ । दिनरात नभनी आरनमा बसे पनि सोचेअनुरुप आरन पेसा व्यावसायिक हुन नसक्दा पेसा नै ओझेलमा पर्दै गएको उनी बताउँछन् ।
‘बिहान भालेको डाकोसँगै जुट्छु,’ उनी भन्छन्, ‘आविष्कारमा जुट्दा शरीरको छाला मात्र पाक्छ । खाने बेलामा एक सुपो बालीमै चित्त बुझाउनुपर्छ ।’ लुवार गाउँभरिका भाँडाकुडा बनाउनमै व्यस्त बन्छन् । तर, व्यस्तताजस्तो ज्याला भने पाउनुहुन्न । बालीकै भरमा चित्त बुझाउनुपर्छ । देशमा अनेकौं राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक चेतनाको स्तरमाथि उक्सिएको बताइए पनि दैलेखको ठाटीकाँध गाउँपालिकामा भने बाली प्रथा कायमै छ ।
व्यवसायिक छैन आरन पेसा
ठाटीकाँध गाउँपालिका लगायत जिल्लामा करिब डेढ सय घरपरिवार आरन चलाएर जीवन निर्वाह गर्छन् । दिनरात नभनी आगोको फलाम र जीउ बरोबर सेकाएर विभिन्न भाँडाकुँडा आविष्कार गर्छन् । ज्यालाको सट्टा अन्तिममा बोरा काँधमा बोकेर काम गरेको बाली माग्न घरघर पुग्छन् ।
‘पहिले काम गर्यो, अनि त्यसकै बाली उठाउन फेरि घरघर हिन्नुपर्छ,’ लुवार भन्छन् । आरन पेशा व्यावसायिक हुन नसक्दा परम्परागत पेसा धान्न युवाको रुचि छैन । अधिकांश युवा अहिले परदेश पलायन हुँदैछन् । यता उमेरले डाँडो काटिसकेका लुवार भने अशक्त भई ओछ्यानमा नपुगुन्जेलसम्म आरन पेसा नछोड्ने विचारमा छन् ।
युवाको रुचि घट्दो
आरन पेसा गरेर जीवन धान्न मुस्किल हुने भएपछि आरनमा युवापुस्ताको चासो घट्दै गएको छ । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्दा र वृद्धवृद्धाले समेत (खलो) श्रमबापत बाली मात्रै पाउँदा यसबाट गतिलो आम्दानी हुन सकेको छैन । त्यसैकारण पनि आरन पेसाप्रति युवाको वितृष्णा जाग्दो छ ।
खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा बुढेसकालमा पनि यही पेसा अँगाल्नुपरेको लुवारकोे गुनासो छ । यद्यपि उनले यही पेसाबाट १०–१२ जनासम्मको पारिवारिक गर्जो टारेका छन् । पेसा–व्यवसाय गर्ने अरू सीप पनि नभएपछि यो पेसाको अर्को विकल्प छैन ।
५०० घरधुरीका भाँडाकुँडा
ठाटीकाँध गाउँपालिका १ र २ वडाबाट करिब ५०० घरधुरीका भाँडाकुँडा बनाउँछन् लुवार । ‘बिहान पाँच बजे उठ्छु,’ उनले आफ्नो दैनिकी सुनाए, ‘एक जनाको १० देखि १२ वटा हँसिया, कोदाला लगायत विभिन्न भाँडाकुँडा बनाउँदा १२ बजेको पत्तैै हुँदैन । खाना खान बस्छु खान मन लाग्दैन । फेरि उठेर आरनमा बस्छु ।’
आरन पेसा नगर्दा साँझबिहानको गर्जो नटर्ने, गर्दा परिश्रम गरेअनुसारको ज्याला नमिल्ने गरेको दुखेसो पोख्दै भन्छन्, ‘पहिले बाउबाजेले गर्दै आएका थिए । त्यतिबेला साहुकोमा काम गर्थें । म पन्ध्र–सोह्र वर्षको हुँदा बुवाको मृत्यु भयो । साहुको काम छोडेर बाउबाजेकै पेसा रोजे । अहिले यो पेसा व्यावसायिक नहुँदा युवाले चासो दिँदैनन् ।’
कोइला नहुँदा पेसा संकटमा
पछिल्लो समय आरनका लागि आवश्यक पर्ने कोइराला समेत पाउन छाडेपछि यो पेसा नै संकटमा पर्न थालेको छ । कोइलाका लागि आवश्यक पर्ने रुख–वनजंगल पहुँच बाहिर हुँदै गएपछि पेसा संकटमा परेको आरन व्यवसायीहरू बताउँछन् ।
कोइरालाको विकल्पमा आधुनिक आरन व्यवस्थापन गरिदिए आफूहरूलाई निकै सहज हुने अर्का आरन व्यवसायी भोटे लुवार बताउँछन् । उनले भने, ‘हामी आरन पेसा गरेर जीवन धान्नेका लागि स्थानीय, प्रदेश या संघ सरकारले आधुनिक आरन र यससम्बन्धी सीप उपलब्ध गराए जीवन धान्न सजिलो हुन्थ्यो ।’
जितेन्द्र थापा । सुर्खेत