सडक छेउतिर कतै ठेलामा त कतै भुइँमै बसेर जाडो–गर्मी, हिउँद–बर्खा नभनी बाह्रैमास मकै पोलिरहेको दृश्य हाम्रा लागि नयाँ होइन । यो दृश्य सम्झँदा मात्रै पनि मुख रसाउँछ । अझ ट्वाक्क नुनखुर्सानी लगाएर मकै खानुको मज्जै अर्कै ! तर पोलेका मकै पोल्नेको कथा मकैजस्तो स्वादिलो भने छैन । त्यहीमध्येका एक पात्र हुनुहुन्छ, कृष्णप्रसाद ढकाल । काभ्रेको चौरीदेउराली गाँउपालिका–५ मा जन्मिएका ढकाल नाङ्लो (साना) व्यापारी हुन् ।
उमेरमा ६५ वर्षको भए । सामान्य परिवारमा कान्छो सदस्यका रूपमा जन्मिएका ढकालले देउराली स्कुलमा कक्षा ६ सम्म अध्ययन गरे । कान्छो छोराले अंश छान्न पाउने नियममा धेरै पढ्यो भने बाठो हुन्छ र आफ्नो भागमा आउने अंश पढेर सक्छ भनेर दाजुहरूले उनलाई पढ्न जान दिएनछन् । १९ वर्ष पुगेपछि नन्दादेवीसँग विवाह बन्धनमा बाँधिए । त्यसको एक वर्षपछि जेठी छोरी चन्द्रा जन्मिइन् । त्यसपछि क्रमशः छोरा होमप्रसाद, छोरी शान्ता र सीता ढकाल गरी परिवारको सदस्य संख्या ६ जना पुग्यो ।
‘मेरा सन्तान पनि धेरै भए । त्यही निहुँमा किचलो, झैझगडा हुन थाल्यो र मलाई छुट्टै राखिदिए,’ ढकालले सुनाए, ‘त्यतिबेला चलन पनि त्यस्तै थियो राख्ने । भान्साकोठा अलगै भयो । बारी आँगन, घरका कोठा बारिन थाले । परिवारका सदस्यसँग पनी बोलचाल विस्तारै कम हुँदै गयो । सुरुमा त नराम्रो लाग्थ्यो । तर बिस्तारै बानी पर्न थाल्यो । परिवारको बोझ पनि थपिन थाल्यो ।’ पारिवारिक जिम्मेवारीले थिचिँदै जाँदा र सदस्य संख्या पनि धेरै भएपछि ढकाललाई खेतीपाती गरेर जीविकोपार्जन गर्न कठिन हुन थाल्यो ।
यही कठिनाइबीच छोराछोरीको सामान्य तरिकाले विवाह गरिदिए । सबै जना घरमा बेरोजगार बसेर के गर्ने ? यहीबीचमा जेठो छोरा विदेश जाने कुरा चल्यो । आफ्नै ज्वाइँले काम लगाइदिन्छु भनी छोरालाई कन्ट्र्याक्ट भिसामा मलेसिया पठाइदिए । तर सोचेजस्तो भएन । ‘त्यसरी जाँदा कैले एक ठाँउबाट अर्को ठाउँ सारिदिने, कहिले काम नपाएर भोकै सुत्नुपर्ने भयो । छोराले दुःख पायो भनेर स्वदेश झिकाएँ,’ ढकाल गम्भीर बने, ‘केही गर्ला कमाउला भनेर विदेश पठाको उल्टै ढाइ लाख ऋण थपियो । बिहानबेलुका हातमुख जोर्न धौधौ हुने मैले कसरी तिर्नु त्यत्रो ऋण ? यही सम्झेर कति रात त निन्द्रा पनि लागेन ।’
ढकालका दिन दुःखमा धकेलिँदै गए । अरूको ज्याला–मजदुरी गरेर बल्लतल्ल ऋण तिरेका थिए । तर अब जेठो छोरा दिनदिनै झगडा गर्न थाले । मलाई दुःख दिनलाई विदेश पठा’को भन्दै बिहानै दिउँसै रक्सी खाएर हात उठाउन थाल्यो । ‘हामी बुडाबुडीलाई दिनकै हात उठाउन थाल्यो,’ ढकालले गुनासो गरे, ‘नशाले जन्मदिने बा–आमा पनि नचिन्ने बनाउँदो रहेछ । अत्ति नै गर्न थालेपछि हामी बुडाबुडी नै घर छोडेर हिड्न बाध्य भयौँ ।’ ढकाल दम्पतीले घर छोडेको हो न कि श्रम । अतः एउटा साहुकोमा ज्यालादारी गर्दै, जग्गा कमाउँदै जीविकोपार्जन गर्न थाल्यो ।
खानलाउन मात्रै पुग्ने भएपछि दुःख गर्नुको कुनै अर्थ लागेन । तीन वर्ष हेटौँडामा बसेर कही पार नलाग्ने देखिएपछि उनीहरू भूकम्पपछि काठमाडौँ नयाँबस्तीमा डेरा गरेर बस्नु थाले । काम नगरी बसौँ, कोठाभाडा तिर्न गाह्रो, हातमुख जोर्नै गाह्रो । केही गरौँ पढाइलेखाइ खासै छैन, जागिर गरौँ उमेर ढल्किसकेकाले काम पाउन गाह्रो, व्यवसाय गरौँ पुँजी छैन । धेरै सोचविचार गरेपछि नाङ्लो पसल राख्ले ख्याल आयो । अहिले जम्बुडाँडास्थित फलामे पुलको छेउमा ढकालको नाङ्लो पसल छ ।
सडकको पेटी छेउमै साना बाँसका चारवटा खाँबो गाडेर पालका टुक्राले छाएको छाप्रो छ । छाप्रोभित्र पराग, सुर्तीदेखि चाउचाउ र मास्कसम्म पाइन्छ । एउटा बोरामा हरिया मकै छन् । ‘ताजा मकै खानुहुन्छ ?’ भन्दै सडकमा हिँडेकालाई सोध्छन्, बोलाउँछन् । हँसिलो अनुहार भएका ढकालको बोलीवचन मीठो छ । यसैले गर्दा पनि मान्छे आकर्षित हुन्छन् । उनको मीठो मुस्कानलाई सुनको दाँतले झनै स्वर्णिम बनाइदिएको छ । ढकाललको दैनिकी एकनासको छ । दैनिक डेराबाट खाना खाएर ९ बजे निस्कनुहुन्छ र बेलुकी ७ बजेपछि फर्किन्छन् ।
यसबीचमा उनको मुख्य काम भनेको मकै पोल्ने नै हुन्छ । घामपानी केहीले छुँदैन । ढकालको मुस्कानको रहस्य पनि बेग्लै रहेछ । उनले मुस्कानलाई झनै आकषर्ण बनाउन सुनको दाँत हालेका रहेछन् । ‘दाँत झरेर वा बिग्रिएर नक्कली दाँत हाल्नुभएको हो ?’ भन्ने मेरो प्रश्नमा उनी भन्छन्, ‘दुईदिनको जिन्दगी मरिलानु के छ र ? मेरो दाँत झरेको या किराले खाएको होइन । मुस्कान झन चमक र हाँसोलाई आकर्षण बनाउन लगाएको हो ।’ मुस्कानलाई सुनले सिँगार्ने ढकालले उक्त दाँत ७–८ महिनाअगाडि मात्रै सुनको खोल हालेको बताउँछन् ।
‘हँसिलो मुहार छ, रमाइलो मान्छे छ, सबै आउने जानेले त्यसै भन्छन्,’ यति भनेर उनी पनि मुस्कुराए । दैनिक २५ देखि ३० घोगा मकै, चुरोट, पानी बेच्ने ढकाल घाटा नभएको बताउँछन् । ‘दिनको ८०० देखि ९०० सम्म कमाइ हुन्छ,’ उनी भन्छन् । ‘कतिपय मान्छे मकैको प्रतिघोगा ३० भन्दा ठुस्किएर जान्छन् । आफूले प्रतिघोगा १५ रुपैँया र दाउरा प्रतिकेजी २५ पर्छ । यस्तो घामपानी नभनी मकै पोल्दा २–५ रुपैँया पनि बसेन भने मिहिनत गरेको केही सार नै भएन । अरुले गरेको दुःखै बुझदैन्न मान्छे ।’
जीवनमा जति दुःख गर्नु थियो गरेको तर अब आफू पनि हाँस्ने र अरूलाई पनी हसाएर बाँच्ने ढकालको चाहना छ । नगरपालिकाको टोली आएर अब सडक छेउमा पसल राख्न पाइँदैन भन्दा खल्लो पनि लागेको छ । ‘बुढेसकालमा अरु काम गर्न सीप छैन । भारी बोक्न तागत छैन,’ टिलपिल आँखा बनाउँदै ढकाल भन्छन्, ‘बुढेसकालको सहारा बनेको नाङ्लो पसल पनि छोडेर अब कहाँ जानु, के खानु ?
रूपेश आचार्य । काठमाडौं