सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा डुवानको समस्या

नेपालगन्जमा १५ वर्षपछि झिकियो नालाको फोहर !

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिएको छ ।

नाला सफा गर्दै कामदारहरु ।

वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन नेपालगन्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाउन थालिएको छ । नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म साना तथा ठूला नालाको सरसफाइ भइरहेको बताएका छन् । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको छ । ‘नालाको माथिल्लो तहसम्म माटोले पुरिएपछि पानीको सतह नै हराएको पाइयो,’ उनले भने ।

पानीको निकास थुनिएपछि जाम हुने बताउँदै जेसिबी प्रयोग गर्न नमिल्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए । नालाको सफाइ गरे यसले नेपालगन्जको डुबानको समस्या समाधान हुने बताइएको छ । नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिएको छ ।

नेपालगन्जमा रहेका ठूला र साना नालाको सफाइको काम लगभग पूरा हुने चरणमा रहेको नगर प्रमुख विष्ट जानकारी दिए । वर्षायाम सुरु भइसकेकोले नेपालगन्जलाई डुबानबाट जोगाउन उपमहानगरभित्रका नहर तथा नालाको निकास खोलिएको छ । उनले सरसफाइसँग सम्बन्धित कर्मचारीलाई नाला निकास र सरसफाइमा केन्द्रित गरिएको जनाए ।

नगर प्रमुख विष्टले थपे, ‘निकास नभएकै कारण बर्सेनि डुबानको समस्या थियो, त्यस्तो अवस्था अब नहोस् भन्नेमा हामी पहिल्यैदेखि सचेत थियौँ ।’ नगर प्रमुख बिष्टका अनुसार पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठुलो नाला सफाइको काम गरिएको छ । जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिएको छ ।

नेपालगन्जका सानाठुला सबै नाला सफाइ गरिएको छ । नेपालगन्जका उपप्रमुख कमरुद्दीन राईले उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको र केही ठाउँमा सफाइ गर्ने काम भइरहेकोले केही दिनमा सफाइ सकिने बताए ।

उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठुला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिएकोले नेपालगन्ज डुबान हुनबाट जोगिने छ । नेपालगन्ज उपमहानगरपालिका–१० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताइन् । नगरपालिकाले सधैं यसैगरी नाला सफाई गर्ने हो भने डुवानको समस्या कम हुने उनको भनाई छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:२१