सूचनाको शक्ति - The Power Of Information

        

वर्षा नहुँदाको असर

बाँकेमा २५ प्रतिशत मात्र रोपाइँ, नरैनापुरमा सबैभन्दा कम

हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ ।

बाँकेको कोहलपुरमा रोपाइँ गर्दै किसान ।

बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र, नेपालगन्जका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख शकिल अहमदले यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकोले सबैतिर रोपाइँ हुन नसकेको बताए ।

उनका अनुसार हालसम्म भएको २५ प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ । प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको जानकारी आएको बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरु झै यो वर्ष पनि बाँकेमा ढिलोगरी धान रोपाइँ सुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाइ सुविधा भएको ठाउँमा मात्र बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन ।

अलि पहिला बीउ राखेका र सिँचाइको पहुँचमा रहेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन् । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुन सकेको छैन । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पुर्याउने गर्दा किसानहरु समस्यामा पर्ने गरेका छन् ।

ढिलो गरी रोपाइँ हुने हुँदा यसपटक पनि उत्पादनमा प्रभाव पर्ने किसानले जनाएका छन् । बाँके डुडुवा ५ का किसान राजितराम मौर्यले कहिले पानी नपरेर उत्पादन घट्ने गरेको र कहिले बढी पानी परेर बाढी र डुबानबाट क्षति भै उत्पादन घट्ने गरेको गुनासो गरे । उनले समयमा मलखाद नपाउँदा पनि उत्पादनमा प्रभाव पर्ने गरेको जनाउँदै मलखादका लागि हरेक वर्ष सास्ती भोग्नुपरेको बताए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १६:०२