सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै

राष्ट्रियसभाकाे बैठक र प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ ।

राष्ट्रियसभाको बैठक बुधबार दिउँसो २ बजेर ३१ मिनेट जाँदा बस्दैछ । बुधबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बुधबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

यस्तै, प्रतिनिधिसभाको बैठक बुधबारै दिउँसो ३ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई बुधबारै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ०८:४९