प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्यालललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियतामा संघीय निजामती सेवा विधेयकका बारेमा घनीभूत छलफल थालिएको हो । प्रधानमन्त्री कार्यालयमा संघीय निजामती सेवा विधेयकका सम्बन्धमा धेरैपटक छलफल भइसकेको बताइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि महिनाअघि मात्रै संघीय निजामती सेवा विधेयक आवश्यक परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको थियो तर, विधेयकका बारेमा व्यापक विवाद भएपछि त्यसै रोकिँदै आएको छ ।
अर्थ र कानुनले परामर्श नदिँदा सो विधेयक त्यसै अलपत्र पर्दै आइरहेको छ । अलपत्र परेको विधेयकका बारेमा प्रधानमन्त्री र मुख्य सचिवले बढी चासो दिएपछि विधेयक अघि बढ्ने अवस्थामा पुगेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौँ