सूचनाको शक्ति - The Power Of Information

        

पोषणमैत्री गाउँपालिका घोषणाको आधार तयार गर्न बैजनाथमा वडा स्तरीय सचेतना

बैजनाथ गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणाको आधार तयार गर्न वडा स्तरीय सचेतना मुलक कार्यक्रम गरिएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा उक्त कार्यक्रमको सोमबार औपचारिक रुपमा शुभारम्भ गरियो ।

बैजनाथ गाउँपालिकाको सहयोग तथा समृद्धिका लागि सञ्चार नेपालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले शुभारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहीले बैजनाथलाई पोषणमैत्री गाउँपालिका घोषणा गर्नका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए ।

 

‘स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, त्यसलाई कार्यान्वयन गर्ने जिम्मा स्वास्थ्यकर्मीको हो,’ उनले भने ‘बालबालिकामा कुपोषण हुन नदिन पोषिलो खानेकुरामा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथी एवम गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पोषणमैत्री गाउँपालिका घोषणा गर्नका लागि आधार तयार गर्न वडा स्तरमा सचेतना मुलक कार्यक्रम गरिनु अत्यन्त महत्वपूर्ण कुरा भएको बताइन् ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा कुनैपनि कुराको कमी हुन नदिन विशेष ध्यान दिदै आएको उनको भनाई छ । पोषणमैत्री गाउँपालिका घोषणाको आधार तयार गर्न एक वडा, एक नर्सिङ कार्यक्रम लागु गरिएको बताइन् ।

बैजनाथ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भुपाल पुनको अध्यक्षतामा भएको उद्घाटन शत्रमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

दुई दिनसम्म चल्ने वडा स्तरीय उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविका, बाल क्लबका प्रतिनिधि, समाजसेवी, सरोकारवाला गरी करिव ४० जनाको सहभागिता रहेको छ । उक्त कार्यक्रम गाउँपालिकाको वडा नम्बर ४ मा पनि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १८:४३