सूचनाको शक्ति - The Power Of Information

        

बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति


बुटवल । प्रदेश नं ५ को स्थगन भएको प्रदेशसभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस सहमत भएपछि प्रदेशसभाको बैठक सञ्चालन भएको छ । बैठक शुरु हुनासाथ समय माग गरेर आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बजेटमा विपक्षीको अहसमति र टिप्पणी सम्बोधन हुने गरी नियमित कारबाहीमा सहभागी हुन अनुरोध गरे ।
उनको अनुरोधपछि बजेट सैद्धान्तिक छलफल भएको छ । छलफलमा सहभागी हुँदै विपक्षी प्रदेशसभा सदस्यले विनियोजित बजेट समावेशी, समानुपातिक नभएको आरोप लगाए । प्रदेशसभा सदस्य रमा अर्यालले कर उत्पादन र नाफामा मात्रै लगाउनुपर्ने जिकिर गर्दै बजेटमा नीतिगत असहमति भएको बताए ।
उनले काँग्रेससँग विनियोजित रकममा हेरफेर गर्ने सहमति भएको उल्लेख गर्दै बजेटका लागि नेता, मन्त्रीको ढोका ढक्ढक्याउने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताए । प्रदेशसभा सदस्य दिपेश थारुले पहुँच र भनसुनको आधारमा बजेट विनियोजन भएको दाबी गर्दै कुल जिल्लालाई कुन आवश्यकता हो त्यसको प्राथमिकीकरण गर्न आवश्यक रहेको बताए ।
प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बजेट समाजवाद उन्मुख भएको उल्लेख गर्दै सन्तुलित विकासको अवधारणा बजेटमा प्रतिविम्बित भएको बताए । प्रदेशसभा सदस्य कमला विकले बजेटले समानुपातिक वितरण प्रणालीलाई जोड दिइएको तर्क गरे । प्रदेशसभा सदस्य सहजराम यादवले बजेट प्रदेशसभाका सदस्यका लागि भिखारी र दाता जस्तो भएको टिप्पणी गर्दै एकलौटी, अपारदर्शी र अव्यावहारिक रुपमा आएको जिकिर गरे ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैनामा बुद्धकालीन सभ्यतासँग सम्बन्धित विषयलाई बजेटले सम्बोधन नगरेकाले आफूलाई हिनताबोध भएको बताए । प्रदेशसभा सदस्य दिनेश पन्थीले बजेट समाजवाद उन्मुख नभएको टिप्पणी गरे । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य कृष्ण न्यौपाने, अष्टभूजा पाठक, इन्द्रप्रसाद खरेल, युवराज खनाल, भूवनेश्वर चौधरी, तुलाराम घर्तीमगर, पुष्पा थरुनी लगायतले बजेटप्रति टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार १४:०७