सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

लुम्बिनी र गण्डकीका आठ जिल्लामा भारी वर्षा

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा बस्न आग्रह

फाइल तस्वीर

देशका केही स्थानमा पछिल्लो केही घण्टायता अति भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

पछिल्लो ६ घण्टादेखि स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।

दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ०६:११