सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड र सिके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेको बताइएको छ । उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् ।  आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् ।

पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सिके राउत रुष्ट रहँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो ।

पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो । प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बचन दिएका थिए ।

अन्तिमता खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेको हो । यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने देखिएको छ ।

तर, कतिपय संविधान विद्हरूले भने अर्को पटक विश्वासको मत लिन नपर्ने तर्क पनि गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतवार १०:११