सूचनाको शक्ति - The Power Of Information

        

नागरिकता पाएको खुसियाली

नागरिकता पाएपछि ‘खुशीको सीमा नाघेका’हरू

नागरिकता प्राप्त गरेपछि खुशी व्यक्त गर्दै कतिपयले वर्षौँयता गरेको सङ्घर्षको मीठो फल पाएको बताए ।

नागरिकताका नपाउँदाको पीडा लिएर केही दिनअघि काठमाडौंको माइतीघरमा धर्ना समेत बसेका पर्साका विवेक रौनियारलाई नागरिकता पाएपछि खुशीको सीमा छैन । नागरिकता पाएको खुसियालीमा उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायतलाई मिठाई समेत खुवाए ।

वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विवेक यसअघि नागरिकता नभएकै कारण भविष्यबारे योजना बनाउन नपाएको दुखेसो सुनाउँछन् । नागरिकता पाएपछि अब नेपाल बाहिर पढ्न जाने र अध्ययन सकेपछि सरकारी जागिरका लागि भिड्ने सपना पूरा हुने देखेर उनी औधी खुशी छन् ।

नागरिकता लिने क्रममै भेटिएका विवेकले भने, ‘करिब १० वर्षको सङ्घर्ष र अनागरिक भएर बाँच्नु परेको पीडाबीच आज पाएको नागरिकताले केही हदसम्म मलमको काम गरेको छ । मेरा साथीहरूभन्दा अध्ययनमा केही वर्ष पछि त परेँ, तर ढिलै भए पनि अब देशबाहिर गएर उच्च शिक्षा हासिल गर्ने मेरो र परिवारको धोको पूरा हुने भएको छ ।’

उनले थपे, ‘म आफ्नो खुशी व्यक्त गर्न सकिरहेको छैन । मेरी आमा झन् खुशी हुनुहुन्छ । उहाँको सङ्घर्षले फल दिलाएको छ ।’ हाल विराटनगरमा एमबीबीएस अध्ययनरत वीरगन्जकी स्नेहा मित्तलले पनि नागरिकता नहुँदा कम सास्ती बेहोर्नु परेन ।

‘नागरिकताविहीन भएर पढ्नुपर्दा’

नागरिकता पाएपछि स्नेहा मित्तल आफ्ना बुवासँग

वीरगन्ज महानगरपालिका–९ गहवाकी २४ वर्षीया स्नेहाले भनिन्, ‘यो नागरिकता पाउन मैले ६ वर्ष सङ्घर्ष गर्नुपर्यो । विराटनगरमा अहिले एमबीबीएस पढिरहेकी छु । नागरिकता नहुँदा त्यहाँसम्म अध्ययनका लागि मैले र मेरा बुवाआमाले निकै सङ्घर्ष गर्नुपर्यो ।’

उनले थपिन्, ‘अब कलेजमा नागरिकता पेश गरेपछि बल्ल मेरो अध्ययनले आधिकारिकता पाउने भयो । पढिरहेकी भए पनि मैले मार्कशीट पाउने आधार नै थिएन । त्यसपछिका अवसर र भविष्य झन् निश्चित थिएन । पीर लिएरै पढ्नुपरेको थियो ।’

नागरिकताकै लागि आफ्नी छोरीले जस्तो अरू कसैका छोराछोरीले सास्ती बेहोर्न नपरोस् भनी कामना स्नेहाका बुवा शङ्कर मित्तल गर्छन् । ‘अब मेरा लगायत धेरैका सन्तानको भविष्यको बाटो खुल्यो । कक्षा १० सम्म खासै समस्या नपरे पनि त्यसपछिको अध्ययनका लागि मैले कलेजमा भर्नाका लागि खुट्टा समेत ढोगेँ ।’

‘धेरै चुनौती झेलेर नाबालिक काजगपत्रका आधारमा मेरी छोरी पढिरहेको अवस्था थियो । छोरीले अहिले नागरिकता पाएपछि म भावुक भएको छु । मेरी छोरीले नागरिकताकै चिन्ता लिएर पढ्नुपर्ने बाध्यता अब रहेन,’ उनले भने । उनका अनुसार जेठा छोराछोरीको नागरिकता भए पनि कान्छी छोरीको मात्र नागरिकता बन्न पाएको थिएन ।

विवेक रौनियार

शङ्करले अगाडि थपे, ‘नागरिकता नै नदिएर आफ्नै देशका नागरिकलाई दुःख दिनुहुँदैन । नागरिकताबारे अहिलेको व्यवस्था नगरिएको भए धेरैको भविष्य अन्धकार हुने थियो । त्यसैले उमेर पुगिसकेका नागरिकलाई समयमै नागरिकता दिन सक्नुपर्छ ।’ पर्साकै सखुवापर्सौनीकी प्रियङ्का साहको नागरिकता नपाउँदाको दुःखको कहानी विवेक र स्नेहाको भन्दा कम छैन ।

‘कक्षा १२ उत्तीर्ण गरेपछि देशबाहिर गएर उच्च शिक्षा हासिल गर्ने मेरो अनि मेरो परिवारको सपनामा तीन वर्षजति बन्देज लाग्यो । मेरो अध्ययनमा तीन वर्ष ब्रेक नै लाग्यो,’ उनले भनिन्, ‘यसबीचमा नागरिकताका लागि सङ्घर्ष जारी थियो । अहिले नागरिकता पाएपछि मेरो खुशीको सीमा नै छैन । नागरिकता पाएपछि म पनि आधिकारिक रूपमा देशकी नागरिक भएँ । उच्च शिक्षाका लागि आवेदन दिने तयारीमा अब जुट्छु ।’

नयाँ व्यवस्था लागु भएर नागरिकता पाउन थालेपछि विवेक, स्नेहा र प्रियङ्का जस्ता थुप्रै नागरिकको मुहारमा अहिले खुशी छाएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूमा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकहरूको भिड बढेको छ ।

नयाँ नागरिकता ऐन अनुसार हालसम्म मधेश प्रदेशका जिल्लाबाट जन्मसिद्ध नागरिकका ३ हजार ३१५ जना सन्तानले वंशज नागरिकता लिएका अधिकारीहरूले बताएका छन् । नागरिकता पाउनका लागि हालसम्म ११ हजार जनाभन्दा बढीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

जिप्रकामा भिड

नागरिकता पाएको खुसियालीमा मिठाई

बिहीवार वीरगन्जस्थित पर्सा जिल्ला प्रशासन कार्यालय पुग्दा नयाँ नागरिकता लिनेहरूको भिड देखियो । ग्रामीण क्षेत्रदेखि वीरगन्ज महानगरपालिकाकै विभिन्न वडाका अभिभावकहरू आफ्ना सन्तानसँग टन्टलापुर घाममा नागरिकताका लागि लाइनमा बसेका थिए । नागरिकता प्राप्त गरेपछि खुशी व्यक्त गर्दै कतिपयले वर्षौँयता गरेको सङ्घर्षको मीठो फल पाएको बताएका छन् ।

अधिकारकर्मीहरूका अनुसार नयाँ संविधानमा जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था गरिए पनि कानुन नहुँदा नागरिकताबाट हजारौँ वञ्चित थिए । सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै केही जिल्लामा शुक्रवारदेखि नै नागरिकता दिन थालिएको भए पनि अधिकांश जिल्लामा आइतवारदेखि थालिएको अधिकारीहरूले बताएका छन् ।

रौतहटबाट बिहीवारसम्ममा नयाँ नागरिकताका लागि २३७ जनाले आवेदन दिएकोमा १५५ जनाले नागरिकता लिएको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । शुक्रवारसम्म जिल्ला प्रशासन कार्यालय पर्साबाट ६७० जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बीबीसीलाई बताए ।

यसका साथै नयाँ नागरिकताका लागि ५ हजार ८५५ जनाले अनलाइन आवेदन दिएका उनले जानकारी दिए । सर्लाहीका सहायक प्रमुख जिल्ला अधकिारी होमप्रसाद घिमिरेका अनुसार त्यहाँ बिहीवारसम्म ६७९ जनाले नागरिकता लिएका छन् ।

नागरिकता लिनेको भिड

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार जिल्लामा नयाँ व्यवस्थानुसार हालसम्म ३२४ जनाले नागरिकता प्राप्त गरेका र १ हजार ५०० जनाले आवेदन दिएका छन् । महोत्तरीबाट ५५२ जनाले नागरिकता लिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले बताए ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार बिहीवारसम्म ५ सय ६ जनाले नागरिकता लिएका र ३ हजार ५९० जनाले आवेदन दिएका छन् । सिराहामा बिहीवारसम्म ४०६ जनाले नागरिकता लिएका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए ।

सप्तरीकी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार त्यहाँबाट ईलाका १२० जनाले नागरिकता लिएको छन् । गृह मन्त्रालयका अधिकारीहरूका अनुसार देशभरि एक लाख ८५ हजार ३९० जनाले जन्मसिद्ध नागरिकता लिएका विवरण जिल्ला प्रशासन कार्यालयहरू पठाएका छन् ।

नागरिकता लिनेहरूको भिडलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयहरूले टोकन प्रणालीबाट सेवा दिन शुरू गरिएको बताएका छन् । तर अधिकांश जिल्ला प्रशासन कार्यालयलमा नयाँ नागरिकता लिनेहरूको भिड भएपछि अरू काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अन्य सेवा प्रभावित नहोओस् भनेर गृह मन्त्रालयले जनशक्ति थप गर्ने तयारी गरेको र छिटै परिपूर्ति गरिने आवश्वासन समेत आफूहरूले पाएको अधिकारीहरूले बताएका छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : १६ असार २०८०, शनिबार ०९:४८