पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक १८ घण्टादेखि अवरुद्ध छ ।
हिजो दिउँसो साढे १ बजेदेखि बन्द भएको सडक अझै खुल्न सकेको छैन । पहिरो पन्छाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हिजो दिउँसो साढे १ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको हो ।
त्यसपछि लगातार पहिरो खसिरहेकाले खुलाउन समस्या भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेकाले पन्छाउन समय लाग्ने बताउनुभयो ।
उहाँका अनुसार पहिरो पन्छाउनका लागि डोजरको प्रयोग गरिएको छ । हिजो दिउँसोदेखि नै रोकिएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् ।
काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् ।
सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ । यसैबीच, पहिरो पन्छाउने क्रममा प्रहरी वरिष्ठ हबलदार जयराम शाह घाइते हुनुभएको छ ।
प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भइ अहिले इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुङ्गाले लागेको हो । घाइते शाहको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सत्यपाटी संवाददाता । चितवन