सूचनाको शक्ति - The Power Of Information

        

वैजनाथमा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन

बाँकेको वैजनाथ गाउँपालिकामा आज गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उपशाखा वैजनाथमा गठन गरिएको हो ।

वैजनाथ गाउँपालिका वडा नम्बर २ मा भएको स्थानीयबासीहरुको भेलाले सुरेन्द्र विकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की, सचिवमा सोनुसिंह विक, कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन भएका छन् । यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्णसिंह ठकुरी, सिताराम खत्री रहेका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा वैजनाथ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेरबहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह, भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन भएका छन् ।

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहत बनाउन शुरु गरेको बताए ।

विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्णलाल चुकेले कसैको एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

वडा नम्बर २ का वडाअध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै बैजनाथ गाउँपालिकामा दुई वर्षअघि राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराए ।

उनले अब वैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य वाग्ले र सल्लाहकार चुकले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका पालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिइन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १९:२३