सूचनाको शक्ति - The Power Of Information

        

साहित्य सम्वाद

‘साहित्य सजीव अनुभवहरूको कलात्मक अभिव्यक्ति’

साहित्यमा अति सूक्ष्मदृष्टि र दूरदृष्टि हुन्छ, जसले समाजको हरेक पाटोमा न्याय गरेको हुन्छ ।

तपाईंको साहित्य लेखन कहिलेबाट सुरु भयो ?

२०६० सालदेखि सुरु भयो ।

कसबाट र कसरी प्रभावित हुनुभयो ?

जब म १२ वर्षको थिएँ डा. तसलिमा नसरिनको ‘लज्जा’ उपन्यास पढेर प्रभावित भएकी थिएँ । लज्जामा महिलामाथि लगाइने अङ्कुशहरुमाथि प्रहार गरिएको थियो ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?

नियमित म आफ्नो कर्म गर्न रुचाउँछु । त्यसरी नै लेख्ने क्रम नियमित अविरल इन्द्रावती जसरी बगिरहेको छ !

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?

आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुने मेरो स्वभाव छ । त्यसैले होला वार्तमान लेखनमा सन्तुष्ट छु ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?

पछिल्लो समयमा पूर्वीय दर्शनमा अध्ययन अनुसन्धान गरेर लेखिरहेको छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?

साहित्य राष्ट्रको अभिन्न अङ्ग हो । जसले भाषा संस्कृति इतिहासको जगेर्ना र संरक्षण गर्दछ । स्रष्टा राष्ट्रको गहना हो । राष्ट्रले स्रष्टाको योगदान अनुसार मूल्याङ्कनका साथ सम्मान गर्नुपर्दछ । जसरी भाषा साहित्य जगेर्नाको निमित स्रष्टाले त्याग तपस्या साधना गरिरहेको छ, त्यसैगरी स्रष्टालाई जोगाउन राष्ट्रले मलजल गरेझैँ संरक्षण गर्नुपर्दछ ।

तपाईंको साहित्यिक आदर्श के हो ?

साहित्य जीवन र जगतको दर्पण हो । साहित्यले हरेकको अन्तर्भावलाई शब्दद्वारा प्रस्तुत गरेको हुन्छ । साहित्यले भाषा संस्कृति जगेर्ना गर्ने काम गर्छ । साहित्य दर्शनले समाजलाई डोहोर्याइरहेको हुन्छ । साहित्य सजीव अनुभवहरूको कलात्मक अभिव्यक्ति हो । साहित्यले दबिएका आवाजहरूलाई प्रस्फुटित गर्छ । साहित्यले प्रेम, धर्म, नैतिकता साथै सम्पूर्ण सांसारिक जीवनलाई उजागर गर्छ ।

साहित्य प्रज्ञाको दीपज्योति हो, जसले उज्यालो प्रकाश छरिरहेको हुन्छ । साहित्य समाजको अभिन्न अङ्ग हो । साहित्य समाजको इतिहास हो । साहित्यमा अति सूक्ष्मदृष्टि र दूरदृष्टि हुन्छ, जसले समाजको हरेक पाटोमा न्याय गरेको हुन्छ । भाषा साहित्य जीवनको अभिन्न अङ्ग हो । भाषा साहित्यबिना मानिस अपूर्ण छ । भाषा साहित्यले नै अन्तस्करणको भाव आदानप्रदान गर्छ । हामी एकअर्कामा संवाद गर्न सक्छौँ । भाषा साहित्य र दर्शनले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सिङ्गोे समाजलाई योगदान पुराएको हुन्छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?

हरेक कालखण्डमा लेखकले आफ्नो भूमिका निर्वाह गर्दैछन् । त्यसैगरी वर्तमान नेपाली लेखकहरू आफ्नो लेखकीय दायित्व वहन गरिरहनुभएको छ ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?

आफूले सिर्जना गरेको हरेक वस्तु प्यारो लाग्छ । त्यसमा पनि आफ्ना कृतिहरू आफूले जन्माएको सन्तान समान हुन् । आफ्नो सन्तान सबैभन्दा प्यारो र सुन्दर लाग्छ । त्यसैले म मेरो कृतिबाट सन्तुष्ट छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?

समय परिवर्तनशील छ । मानव समाज विकास उन्मुख छ । मानव सभ्यता विकास हुँदै जाँदा मानिसको सोच, विचार, चिन्तन, दर्शन सबै परिवर्तन हुन्छन् । हिजोको समाज र आजको समाजमा निक्कै भिन्नता छ । साहित्य समाजको दर्पण हो । समाज जस्तो छ, त्यस्तै साहित्य सिर्जना हुन्छ । आजको विज्ञानको चमत्कारको समय हो । त्यसैले हिजोको र आजको लेखनमा धेरै भिन्नता छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?

अबको साहित्य अनुसन्धानमूलक, यथार्थपरक हुनुपर्छ । अबको युगको मानिसले प्रमाण खोज्छ । रिसर्च गरेर लेखिनुपर्छ ।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?

साहित्यिक गतिविधिले जब विचार भावना जुर्मुराउँछ, तब लेख्ने प्रेरणा जागेर आउँछ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?

मैले लेख्ने समय ब्रह्ममुहूर्तमै हो । बिहानीको समय सिर्जनशील हुन्छ । सूर्योदय पश्चात् गृहस्थ जीवनमा व्यस्त हुन्छु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?

लेखक एक योगी हो । लेख्न निरन्तर साधना चाहिन्छ । साधनाका लागि शान्ति र शान्त वातावरण चाहिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?

जुन विषयले मन छुन्छ र सान्दर्भिक लाग्छ त्यही विषयवस्तुमा केन्द्रित हुन्छु र सिर्जना गर्छु ।

सफल स्रष्टाका आवश्यक गुण के के हुन् ?

सफल स्रष्टाका निमित्त मिहिनेत र साधना नै मुख्य हुनुपर्छ । अरूले भन्दा फरक काम गर्नुपर्छ ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?

पछिल्लो समयलाई नियाल्दा आख्यान विधाका पाठक बढेको महसुस हुन्छ ।

सृजनामा सजीवता र काल्पनिकता मध्ये कुन बढी हुनुपर्ला ?

अबको सिर्जना यथार्थपरक हुनुपर्छ । त्यसैले सजीवता बढी हुनुपर्छ ।

लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ?

हाम्रा हेरेक कालखण्डको नेपाली इतिहास नै लोप भएका छन् । अन्तर्राष्ट्रिय साहित्यलाई हेर्ने हो भने हामी धेरै पछाडि छौँ । दुई सय वर्षसम्म राणा शासनको दमनले जनमानसमा शिक्षाको पहुँच थिएन । लेखिनुपर्ने धेरै कुरा लेखिएनन् । अबका पुस्ता सय वर्ष पहिलाका घटना क्रमदेखि अनभिज्ञ छन् । जब लेखिँदैन इतिहास लोप हुन्छ । इतिहास जोगाउनलाई पनि लेख्नुपर्ने बाध्यता बोध हुन्छ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?

आजको मानिस सन्तुष्टीको प्यासमा भौँतारिइरहेको छ । बाहिरी तडकभडक, पैसा खर्चिएर आनन्द र सन्तुष्टी लिन रानु हाराएको मौरी जस्तो भएको छ । कैयौँ मानिस डिप्रेसनको सिकार भएका छन् । लेख्नु आफ्नै लागि हो । लेखनमा जस्तो सन्तुष्टि, आनन्द कुनै भौतिक सुख सुविधामा छैन । लेखिरहनुहोस् समुद्रको मोती टिप्न सफल हुनुहोस ।

किन कोही स्रष्टा दलको झन्डामूनि ओत लाग्ने रहर गर्छन् ?

साहित्य पवित्र अमृत हो । जसले ग्रहण गरेर प्रज्ञाको द्वार खोल्न सकिन्छ । स्रष्टा समग्र समाजलाई डोहोर्याउने मार्गदर्शक हो । स्रष्टाको आफ्नै पृथक् उचाइ छ । कुनै स्रष्टा दलको झन्डामुनि रहेर ओत लाग्नु भनेको सस्तो प्रचारमुखी हुनु हो । दलको आडमा महत्वाकाङ्क्षी हुनु हो । दलको झन्डामुनि रहेर लेखिएका साहित्यले सबै वर्ग, समाज र राष्ट्रलाई न्याय गर्न सक्दैन ।

तपाईका प्रकाशित कृतिहरु के–के हुन् ?

क्षितिजपारिका शब्दहरु कविता सङ्ग्रह, कामना गीति एल्बम, समलिङ्गी सम्बन्ध उपन्यास, रागिनी कथा सङ्ग्रह, लभ इन जेरुसलेम उपन्यास, रानितलाउ उपन्यास, पुरुष उपन्यास, दुई सय फुटकर लेख रचना प्रकाशित भएका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १५:१७