सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण कोरियालीहरू कसरी भए एक वर्ष कान्छा ?

अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्ने उद्देश्यले दक्षिण कोरियाले आफ्नो परम्परागत उमेर गणना गर्ने विधि त्याग्ने निर्णय गरेको छ । जसका कारण मानिसको उमेर डेढ वर्षले घट्ने अनुमान गरिएको छ ।

बुधबारदेखि लागू भएको यो कानूनले छुट्टाछुट्टै व्यवस्थाका कारण उत्पन्न हुने सामाजिक दुविधा र आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पदभार ग्रहण गरेका राष्ट्रपति युन–सुक–ओल यो परिवर्तनको कडा समर्थक हुन् ।

त्यसो त कोरियामा उमेर परिवर्तनको योध प्रयास पहिलो होइन । २०१९ र २०२१ मा पनि उमेर प्रणालीलाई एकीकरण गर्न विधेयक ल्याइएको थियो, तर त्यतिबेला कोरियाली सभामा उक्त विधेयकले समर्थन पाएन ।

कोरियामा उमेर गणनाको अन्तरराष्ट्रिय प्रणाली थिएन भन्ने होइन, अहिले यसले कानुनी स्वरूप पाएको मात्र हो । यथार्थ के हो भने दक्षिण कोरियामा उमेरको वर्ष गणना गर्ने तीन वटा प्रणाली एक साथ चलिरहेको छ ।

सांसदहरूले गत वर्ष डिसेम्बरमा यो स्थिति परिवर्तन गर्न अन्तर्राष्ट्रिय प्रणालीलाई आधिकारिक रूपमा प्रयोग गर्ने पक्षमा मतदान गरे । यद्यपि यो नयाँ ऐन बनेपछि समस्या समाधान हुन्छ कि नयाँ अन्योल खडा हुन्छ भन्ने प्रश्नको उत्तर आउन बाँकी नै छ ।

उमेर गन्ने कोरियाली विधि अनुसार त्यहाँ यो गन्ती गर्भमा आएलगत्तै सुरु हुन्छ । अर्थात् प्रत्येक दक्षिण कोरियाली नागरिक जन्मने बित्तिकै एक वर्षका हुन्छन् । उमेरमा अर्को वर्ष जन्मदिनमा होइन जनवरी १ मा थपिन्छ ।

यसको अर्थ के हो भने यदि कसैको जन्मदिन डिसेम्बर ३१ मा हो भने कोरियन प्रणाली अनुसार जनवरी १ मा उसको उमेर दुई वर्ष हुनेछ । यसैगरि उमेर गन्ने अर्को तरिका छ जसमा बच्चाको उमेर जन्मको दिन शून्य हुन्छ, तर जनवरीको पहिलो दिन एक वर्ष मानिन्छ ।

कोरियामा १९६० देखि नै चिकित्सा र कानुनी कागजातहरूमा अन्तर्राष्ट्रिय प्रणाली प्रयोग गरिँदै आएको छ, जसमा जन्मको उमेर शून्य र पहिलो वर्षलाई जन्मदिनबाट गणना गरिन्छ । यद्यपि त्यहाँ सामान्य जीवनमा मानिसहरूले परम्परागत पद्धति छोडेनन् ।

२०२२ को सेप्टेम्बरमा गरिएको सर्वेक्षणमा ८६ प्रतिशत जनताले कानून बनेपछि अन्तर्राष्ट्रिय प्रणाली मात्र प्रयोग गर्न चाहेको बताएका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १०:२७