सूचनाको शक्ति - The Power Of Information

        

देउवा, ओली र दाहालका ज्योतिषी एउटै ?

प्रमुख तीन राजनीतिक दलको नेतृत्व गरेका तीन शक्तिशाली नेताका ज्योतिषी एउटै व्यक्ति भएको खुलेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्योतिषी एकै व्यक्ति भएको खुलेको हो ।

तीन शक्तिशाली नेताका ज्योतिषी सुरेशचन्द्र रिजाल रहेको खुलेको छ । स्रोतका अनुसार प्रत्यक्षदर्शीहरुका अनुसार, तीन प्रमुख दलका तीन शक्तिशाली नेताका ज्योतिषी रिजाल नै हुन् ।

यसअघि एमाले अध्यक्ष ओलीले नयाँ वर्ष २०८० मा आफ्नो ग्रहदशाको फल परिणाम के कसो हुनेछ भनेर बुझ्न ज्योतिषी रिजाललाई बालकोट निम्त्याएका थिए ।

सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट जमीनमा ओर्लिएका ओलीका पिताले आफ्नो पुत्रले चाँडै नै सत्ताको नेतृत्व पाउने भविष्यवाणी गरेसँगै ओलीले रिजाललाई बालकोट निम्त्याएका थिए ।

आफ्नो ग्रहदशा थाहा पाउने क्रममा राजनीतिक प्रतिद्वन्दी देउवाको पनि गुह्य सूचनाको सुइँको पाइने भएकाले ओलीले उनै रिजाल रोजेको हुनसक्ने बताइन्छ । उनै रिजाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पनि विश्वासिला ज्योतिषी हुन् ।

रिजाल निकट सूत्रले भने तीनै जना नेताको चिना विवरण जानकारी राखे पनि उनले एकअर्काको व्यक्तिगत विवरण भने अरु कसैसँग चुहाउँदैनन् । चिकित्सकले बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण विना अनुमति अरुसँग भन्न नभएजस्तै ज्योतिषीले पनि पेशागत धर्मको सुरक्षा गर्छन् ।

रिजालले सात पटक प्रधानमन्त्री हुन्छौं भनेर घोषणा गरिदिएकाले कांग्रेस सभापति देउवा अहिले पनि सत्ताको चलखेल बढी सक्रिय हुने गरेको र सत्ता हत्याउन अनेक हत्कण्ठामा लागेको कांग्रेस निकट स्रोत बताउँछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार २२:०९