सूचनाको शक्ति - The Power Of Information

        

राप्ती अञ्चल अस्पतालमा जनशक्तिको अभाव

दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।
दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ । हाल जडान गरेको उपकरणबाट छजना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् ।
अस्पतालका निमित्त मेसु डा विनोद सिंंहले मेशिनको उपकरण र चिकित्सक अभावका कारण सोचेअनुरुप सेवा दिन नसकेको बताए । उनले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको जानकारी दिए ।
‘हामीहरुसँग दुईवटा मात्र उपकरण छन् । डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावले सबैलाई सेवा दिन सकेका छैनौँ,’ डा सिंहले भने, ‘अर्को उपकरण र जनशक्ति भएमा सेवा प्रवाहमा सहज हुन्छ ।’
हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताए ।
‘कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेमा हामीहरुले पहल गरिरहेका छौँ,’ उनले भने । त्यस्तै अस्पतालले शुरु गर्ने भनेको सघन उपचार कक्ष (आइसियु) सेवा पनि शुरु हुन सकेको छैन । अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लाग्न थालेका छन् ।
‘आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव छ त्यसैले सेवा शुरु गर्न सकिएको छैन,’ अध्यक्ष देवकोटाले भने । तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको बताएको छ ।
उक्त अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्टविहीन छ । एकवर्ष पहिले यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन । हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्चल अस्पताल मेसुविहीन भएको हो । रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०७:०४