सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेता सिटौला प्रहरी छानबिनमा ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि छानबिनमा तानिएका छन् । यो प्रकरणका बिचौलिया बेचन झासँग उनको कनेक्सन देखिएको छ ।

हाल फरार रहेका बेचन झा र सिटौलाको निकटता देखिएको प्रहरी स्रोत बताउँछ । सिटौलामार्फत नै झाले तत्कालिन गृहमन्त्री बालकृष्ण खाणसम्म पहुँच पुर्याएर नक्कली शरणार्थीलाई अमेरिका पठाउने भन्दै विभिन्न निर्णय गर्न भ्याएका थिए ।

स्रोतका अनुसार पक्राउ परेका तत्कालीन सचिव टेकनारायण पाण्डेले समेत यो कुराको खुलासा गरेका छन् । झाले नै खाणसँग केशब दुलाल र सानु भण्डारीको सेटिङ मिलाएका थिए । थप पैसा बालुवाटारमा बुझाउनुपर्ने भन्दै उनले आफैं पनि पैसा लिएको स्रोत बताउँछ ।

उनले बयानमै भनेका छन्, ‘बिचौलिया बेचन झालाई यो विषयमा धेरै जानकारी छ ।’ प्रहरीले यो प्रकरणमा अनुसन्धान सुरु गरे लगत्तै झा भागेका थिए । उनको नेपाल र भारतमा दुवैतिर नागरिकता छ । काठमाडौंको बानेश्वरमा घर पनि छ । गिरिजाप्रसाद कोइरालासँग उनको निकटता थियो ।

सोही आधारमा पहुँच बनाएर नेपाल विद्युत् प्राधिकरण लगायत निकायमा ठेक्कापट्टा पनि गर्दै आएका छन् । भारतमा पनि उनीविरुद्ध ठगीका उजुरी परेका छन् । तर, तीन महिना बित्दा पनि प्रहरीले झालाई पक्राउ गर्न सकेको छैन । जसकारण दोस्रो चरणको अनुसन्धानमा प्रहरीले प्रगती गर्न सकेको छैन ।

दोस्रो चरणको अनुसन्धानमा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगीहरू तथा आरजु राणा लगायतमाथि अनुसन्धान गर्नुपर्ने अवस्था छ । तर, प्रहरीले स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पाएको छैन । झाको कनेक्सन आरजु राणसँग पनि देखिएको छ गृहमन्त्री खाणसँग झाको परिचय पनि आरजुले नै गराएको खुलेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ०८:०२