सूचनाको शक्ति - The Power Of Information

        

नेपाल—भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो ।
पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ । सोही क्रममा करीब रु पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ ।
सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताए । बरामद गरिएको सामानमा रु ५२ हजारको ४३१ पत्ता फेयर लब्ली, रु एक लाखको दुई बोरा मरिच, रु एक लाखको ५० रोल थान कपडा, रु एक लाख ५० हजारको १०२ पिस जयपुरी र १०८ पिस कठाइ साडी रहेका छन् ।

सडकजन्य अवरोध हटाउने अभियान
यसैबीच, पश्चिम नवलपरासीको सुनबल नगरपालिकाले राजमार्ग आसपासका क्षेत्रमा रहँदै आएको विविध सडकजन्य अवरोध हटाउने अभियान चलाएको छ । सरसफाइ अभियानअन्तर्गत पूर्व–पश्चिम राजमार्गको ८२ फिट क्षेत्रभित्र सम्म व्यापक सरसफाइ अभियान सञ्चालन गरी सबैखाले अवरोधलाई हटाई अभियान चलाइएको हो ।
सुनवल, वडा नं १२ रामनगरदेखि वडा नं ७ ज्यामिरेसम्मको राजमार्ग रहेको क्षेत्रसम्मका सबैखाले अवरोधलाई हटाई स्वच्छ नगर निर्माणको अभियान चलाएको सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा (भरत)ले बताए ।
विशेष गरी सुनबल बजार क्षेत्र, बनकट्टी बजार क्षेत्र र रामनगर बजार क्षेत्रमा अव्यवस्थित तवरले भण्डारण गरिएका निर्माण सामग्री, सवारीसाधन पार्किङ, पार्किङ गरिएका पुराना थोत्रा सवारीसाधन हटाउन थालिएको छ ।
सडक सुरक्षामा खतरापूर्ण र नगरको शोभा बिगार्ने सामग्री अटेर गरी नहटाइए प्रहरी बजार व्यवस्थापन समितिले आफैँ हटाई दिने र त्यसको कुनै क्षतिपूर्ति प्राप्त नहुने कानूनी व्यवस्था रहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०६:३६