सूचनाको शक्ति - The Power Of Information

        

जब डाक्टरले काटिएको हात खुट्टामा जोडिदिए…

डाक्टरलाई भगवानको दर्जा दिने गरिएको छ, किनभने बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् । तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् ।

चीनमा यस्तै चमत्कार भएको छ, जहाँ चिकित्सकको टोलीले बिरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेका छन् । हालै मोरबिड नलेज नामक ट्वीटर पोस्ट मार्फत डाक्टरहरूको यो अद्भूत प्रयासको बारेमा थाहा पाएपछि मानिसहरू छक्क परेका छन् ।

यस ट्वीटमा चिनियाँ डाक्टरहरूले बिरामीको काटिएको हातलाई कसरी जीवित राख्न बिरामीको खुट्टामा टाँसेर राखेको बताइएको छ । चिनियाँ कारखानाका एक कामदारको देब्रे हात मेसिनले काटेको थियो । त्यसपछि डाक्टरहरूले बायाँ हातलाई बिरामीको खुट्टामा सिलाए । जसमा हातलाई खुट्टाको धमनीबाट रगत आपूर्ति हुन्छ र हात जीवित रहन्छ ।

खुट्टामा जोडिएको यो हातको तस्वीर सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ । जब एक महिना पछि हात ठीक भयो त्यसपछि डाक्टरहरूले फेरि शल्यक्रिया गरे र बिरामीको काटिएको हात पुनः जोडिदिए । यो शल्यक्रिया सफल भएपछि डाक्टरको निकै प्रशंसा भएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनको हातमा धेरै हलचल भएको र उनी हातलाई धेरै डिग्रीसम्म झुकाउन सक्षम भएको बताइएको छ । एक महिनादेखि खुट्टामा टाँसिएका कारण हातको स्नायु प्रक्रिया कम भएकोले बिरामीको हात पूर्ण रूपमा सक्रिय हुन कम्तिमा ६ महिना लाग्ने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०७:४०