सूचनाको शक्ति - The Power Of Information

        

कमला किनारमा बाढी पर्खिरहेका माझी

केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै शुरू भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ । नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ ।

त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरू त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् । हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी किनारमा डुङ्गा खियाउने माझीहरूको सङ्ख्या भने बढ्न थालेको छ ।

त्यसै मध्येका एक हुन् कमला नगरपालिका–५ धनुषाका ८० वर्षीय माझी ‘बा’ रामसेवक सहनी । उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ ।

‘के गर्नु वर्षाका दुई–चार महिना त हो डुङ्गा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्यो,’ उनले भने । कमला–५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुङ्गा खियाउन उनी व्यस्त हुन्छन् । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ ।

‘देशमा हुँदा नौ–दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुङ्गा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौ,’ सहनीले भने, ‘यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला !’ वर्षायामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उनको भनाइ छ ।

सहनीका शब्दमा यो रहर नभइ उनको बाध्यता हो । ‘पेशा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुङ्गा चलाइरहेका छौँ । मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए । रातारात हुने त्यहाँको विकास देखेको छु । यहाँ त पुल नदेखेरै पुस्तौ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ । थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन,’ सहनीको गुनासो छ ।

उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुङ्गा चलाउन सिक्दै छन् । बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुङ्गा चलाउन सकिरहेको हरिदेवको भनाइ छ । ‘हाम्रो जात नै डुङ्गा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु । बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन । के थाहा ! यस्तै अवस्था रहे मैले पनि डुङ्गा चलाएर बस्नुपर्ने हो कि,’ हरिदेवले भने ।

स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुङ्गाको विकल्प नभएको बताए । उनले वर्षौदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए । ‘मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ । नातेदारहरू नदी पारी धनुषामा बस्छन् । आउजाउ गर्दा डुङ्गाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छ,’ मोहम्मद भन्छन्, ‘नेताहरू भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौ लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन् । कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन ।’

यो पटक अहिलेसम्म पूर्णरूपमा वर्षा शुरू भइसकेको छैन । ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदैछ । नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ । त्यस्तै त्रास छ वर्षौदेखि डुङ्गा खियाइरहेका माझीहरूलाई पनि । ‘केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नुपरिरहेको छ । तपाईंहरूले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई । बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ । यो रहर नभई बाध्यता हो । पुल नहुनुको बाध्यता !’ उनले भने ।

स्रोत : रासस
प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०७:१४