सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कुमारी चन्द्रमा म तिमीलाई प्रेम गर्छु

म त्यही आलिङ्गनको बाहुपासमा बाँधिएर फरहादले झैँ फोड्दैछु ।

जब ढल्कन्छ बूढो घाम
अनि म तिम्रो लज्जालु अर्धाकृति हेरेर
पिउँछु एक प्याला सौन्दर्य
र पखाल्छु दिनभरिको पसिना
पसिनाको थोपा थोपामा देखिने
तिम्रो छाया र मायाको कलिलो
ज्योति स्पर्श गर्दै बिताईदिन्छु कालो रात
म तिमीलाई प्रेम गर्छु

तिमि धराकी अप्सरा
तिमि शान्त र क्लान्त शरीरमा
बिश्राम कालकी वसुन्धरा
थोरै मुस्कानसँगै क्षितिज च्यातेर
फरासिलो मुहारमा अँध्यारो विरुद्ध क्रुध्द चेतना
म चेतनाको बिसाल फैलावटमा उभिएर
उद्घोष गर्छु,
म तिमीलाई प्रेम गर्छु

यध्यपि म एक पागल प्रेमी तिम्रो
म अनेक पर्याय मानिस–मानिसको
तिमि अस्ताचल कि कनकवदनी
हरदम म हेर्छु तिम्रो कमनीय वक्ष
फैलदै गएको तिम्रो दिप्ती
स्निग्ध मुस्कान र विराट क्यान्भासजस्तो
नीलो आकाशबाट ओर्लिएर
धरतीमाथिको न्यानो आलिङ्गन
म त्यही आलिङ्गनको बाहुपासमा बाँधिएर
फरहादले झैँ फोड्दैछु
तिमिजस्तै शान्त र शितल संसारमा पुग्ने
धावन मार्ग बनाउन दौरात्म्यको पाहाड
म तिमिलाई प्रेम गर्छु

म आकाशलाई धकल्छु पर पर
च्यातिदिन्छु बादलका काला धब्बाहरु
कतै नहुन् तिमि र म बीच अपारदर्शी व्यवधानहरु
साटासाट हुन् हामी दुईका निस्वास र स्पन्दन
किन्तु मानिसहरुको प्रेम बगिरहोस धरतीभरि
हिम पग्लिएर नदी बगेझैँ बगिरहोस
समताको नदीमा मानिसहरु पौडिएर पखालुन्
बैषम्यको धुलो मैलो
एउटा समरको अन्त्य होस् तिम्रो उदय
म तिमीलाई प्रेम गर्छु

मेरा आँखाहरू यिनै हुन्
जसले देख्यो अनेक सपना
कालो रातको रातो बिस्तारामा
प्रचण्ड घामको उखरमाउलो गर्मी
कालरात्रीजस्तो दिनका कठोर प्रहरहरु
भिमकाया पहाडले छेक्यो तिम्रो ज्योती
जङ्गलजस्तो भयो बस्ती, शहर र मानिसहरुमा भय
घामले डढेर अवसान भए
कति सुन्दर फूलहरु
आँशुमा पौडिएर गए कति थुङ्गाहरु
सियोको नाथ्रीमा उनेर एउटा घागो
थुङ्गा थुङ्गाको मुटुमा घोचेर
उन्न सकिएन प्रेमको माला, मखमलीको
लालुपातेले डाँडापाखा सर्वत्र सिँगारियो
मानिसको मन र मानिसकै आस्थाको भूमि
झन् बन्जर हुदै गयो विचारको माटो
फगत एक तिलस्मी कथा झैँ भयो, इतिसास
घामको प्रचण्ड रापझैँ
बाल्छु आगो
पोल्छु दुरुह सन्जालका पर्दाहरु
म समात्न चाहन्छु तिम्रो विराट शान्ति
र तिम्रो पूर्णाकृतिको वरद सौन्दर्यमा
म तिमीलाई प्रेम गर्छु ।

प्रकाशित मिति : १० असार २०८०, आइतवार ०८:३१