सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

उज्ज्वल भविष्यको सडकवारि-सडकपारि

एक्कासि उसले देख्यो, सडक–सुन्दरीहरूतर्फबाट उदासीन भएर एउटा मोटोघाटो, तालु खुइलिएको, मोटै सिसाको चस्मा लगाएको, काखीमा मोटामोटा किताबहरू च्यापेको, पुड्को मानिस आउँदै रहेछ ।

हात मिलाउनासाथ कुन्नि के चिप्लिएर झर्याे अनि उसले अनुहारतिर हेर्यो ।

जोसित हात मिलाएको थियो, उसको अनुहार निर्विकार थियो, उसले केही भन्न खोज्यो तर सकेन । ऊ निर्निमेष उसको थाप्ले टाईतिर हेरेर उभिइराख्यो । कारहरू र उनीहरूले मिलाएको हातबाट केही कुरा सलसलती सडकमा बग्दै थियो ।

निकै बेरपछि भनसुन भयो । पहिले सन्चो–बिसन्चोका कुराकानीहरू भए । दुवैले एक–अर्कालाई मोटाएको भने तर परस्पर कसैले कसैलाई सुँगुर भनेन । अनि, महँगीका कुरा चल्यो । दुवैले आ–आफ्नो कठिन जीवनको वृत्तान्त सुनाए तर कसैले आफ्नो गोप्य आयस्रोतको चर्चा गरेन । अनि, मौसम प्रसङ्ग सुरु भयो । वसन्तऋतु हुँदाहुँदै पनि दुवैले मौसमको बदख्वाइँ गरे तर दुवैले आ–आफ्नो वसन्त लुकाएर झोक्र्याइराखे ।

मौसम प्रसङ्गले बोर भएपछि दुवै भूतपूर्व प्रेमिकाहरूको चर्चा गर्दै रमाउन थाले । ‘यार–यार’ भनाभन भयो ।

आ–आफ्नी प्रेमिकाहरूको नखशिखवर्णनमा जोड दिन थालियो । फलानी र ढिस्कानीलाई यति पटक सुताएँ र यति पटक उठाएँ भन्ने तथ्याङ्क सङ्कलन गर्ने होडबाजी चल्यो ।

उनीहरूको यो कुरा सुनेर उभिइराखेको नेपाली बोर भयो र फटाफटी सडक पार गरेर पल्लोपट्टिको पेटीमा उभिन पुग्यो ।

“कहिले हो ?”

“भर्खरै ।”

“भर्खरै ? कताबाट ?”

कताबाट भन्नु ? अलमलमा पर्यो । नेपालबाट भनूँ भने नेपालमै छ । कहीँ गएको पनि छैन, कतै जाने विचार पनि छैन । आएको बाटो पनि छैन, जाने बाटो पनि छैन ।

“उः हेर्नुस् त कति राम्री केटी !”

“एफ्रोडाइट हो कि ?”

“एफ्रोडाइट होस् कि हर्माफ्रोडाइट होस्, अवश्य कतै गैराखेकी छे । आउनुस् पछि लागौँ ।”

“तिमीलाई कतै पनि जानु छैन कि क्या हो ?”

“रिन खोज्न जानु छ ।”

“कहाँ ?”

“म कहाँ ! तिमी नेपाली होइन ?”

“हो ।”

“जाऊ, तिम्रो भविष्य उज्ज्वल छ ।”

उसले आशीर्वाद दिएझैँ हात उचालेर भन्यो तर ऊ गएन । उसलाई विश्वास छ , एक छिन अझै कलात्मक ढङ्गले थोत्रा गाला बजाउन र दाँत ङिच्याउन पाइयो भने एकाध कप चिया पक्कै ख्वाउनेछ । तर, निर्मोही ‘जेन्टिल म्यान’ फटाफट हिँडिदियो ।

अब ऊसित उज्ज्वल भविष्य मात्र छ ।

उसले देखायो ‘जेन्टिल मयान’ गएपछि सुकेको ओठमा जिब्रो चलाउँदै अन्यमनस्क भावमा नेपाली उभिराखेको छ ।

उसले यो दृश्य हेर्न नसकेर छिटोछिटो सडक क्रस गर्यो र पारिपट्टिको पेटीमा गएर उभियो । छेउको ठेलागाडामा अङ्गुर र स्याउ सँगसँगै गोलभेँडा र प्याज पनि थुप्रिएको थियो । उसले उभिई उभिई मानव कल्याणका लागि एउटा सिद्धान्त बनायो अन्तर्द्वन्द्वात्मक पारस्परिकतासापेक्ष भौतिकवाद ।

अब यसको व्याख्या पनि त हुनुपर्यो । सिद्धान्तको व्याख्या गर्न कुनै न कुनै महापुरुषको जन्म हुनैपर्छ । जन्मिएला कुनै महापुरुष र गर्ला व्याख्या । आफू यो झन्झटमा नपरौँ । तर, कसै न कसैलाई यसको जानकारी त हुनुपर्यो । एक्कासि उसले देख्यो, सडक–सुन्दरीहरूतर्फबाट उदासीन भएर एउटा मोटोघाटो, तालु खुइलिएको, मोटै सिसाको चस्मा लगाएको, काखीमा मोटामोटा किताबहरू च्यापेको, पुड्को मानिस आउँदै रहेछ । पक्कै प्रोफेसर हुनुपर्छ । सत्पात्र । ऊ बाटो छेक्न सजग भयो ।

“नमस्कार !”

“नमस्कार !”

“मैले एउटा सिद्धान्त बनाएको छु । कृपया मानव कल्याणका निम्ति चस्मा फुकाल्नुस् र लघुशङ्का सुख ठानेरै एक छिन सिद्धान्त सूत्र सुनिदिनुस् ।”

प्रोफेसरको चस्माभित्र बौद्धिकताको टुकी बल्यो ।

“कस्तो सिद्धान्त ?”

“अन्तर्द्वन्द्वात्मक पारस्परिकतासापेक्ष भौतिकवाद !”

“कस्तो सिद्धान्त हो यो ? बुझिएन ।”

ऊ खुसी भयो । आखिर उसले मानव कल्याणका लागि प्रोफेसरले समेत नबुझ्ने सिद्धान्त बनाइछाड्यो ।

“सरल शब्दमा बुझाऊँ कि हजुर ?”

“हुन्छ, सकभर सरल नै, छोटकारीमा ।”

“हेर्नुस्, लिङ्गमाथि पेट झुन्डिएको छ..!”

“यो के वाहियात कुरा गरेको..!”

“सुन्दै जानुस् श्रीमान्, गाँठी कुरा यसैमा छ । आँ म भन्दै थिएँ, लिङ्गमाथि पेट झुन्डिएको छ । पेटमाथि गिदी थुप्रिएको छ । अब भएन कि फसाद । कोही भन्छन्, लिङ्गबाट गिदी उत्पन्न हुन्छ । कोही भन्छन्, पेटबाट गिदी उत्पन्न हुन्छ । कोही भन्छन्, गिदीबाट लिङ्ग उत्पन्न हुन्छ । कोही भन्छन्, पेटबाट लिङ्ग उत्पन्न हुन्छ । कोही भन्छन्‘ भैगो छाड्नुस् लम्बेचौडे कुरा । छोटकारीमा भन्छु, म के भन्दै थिएँ रे ? अँ, कुस्ताकुस्तीको कुरा ।”

“तपाईं उचित शब्दहरू प्रयोग गर्नुहुन्न ।”

प्रोफेसरले आफ्नो नभएको कपाल कन्यायो ।

“सरलतामा यस्तै हुन्छ ज्यू ! जटिलतामा उस्तै भयो भने सिद्धान्त कसले बुझिदिने ? अँ, म भन्दै थिएँ, कुस्ताकुस्ती । यसै भित्री कुस्ताकुस्तीलाई अन्तर्द्वन्द्वात्मकता भनियो । सैद्धान्तिक वेश्यावृत्तिको एउटा खुड्किलो त उक्लियो, हैन त हजुर ?”

“सिद्धान्तमा यो वेश्यावृत्ति कताबाट आइपुग्यो ?”

अब भने प्रोफेसरले चस्मा फुकाल्यो र निधारमा गाँठो पार्यो ।

“सिद्धान्तहीन वेश्यावृत्तिमा के मजा छ यार ?”

‘यार’ शब्द सुनेर प्रोफेसरको बौद्धिक अहम् अनुहारमा चिल्लोझैँ टल्कियो । ऊ छेउछाउ हेर्न थाल्यो तर संसार माने सडक आफ्नै धुनमा बग्दै थियो ।

“अब आयो पारस्परिकता । लिङ्ग, पेट, गिदी र यी तीनवटैको वासस्थान एउटै शरीर भएकोले यिनीहरूको पारस्परिकता स्वयम् सिद्ध छ । यहाँ लिङ्ग भन्नाले स्त्री र पुरुष दुवैको सम्झिनुहोला, अन्यथा ‘ओम्यान लिव’का सदस्यहरूले थाहा पाए भने ‘यथारण्यम् तथा गृहम्’को अवस्था उत्पन्न हुन बेर लाग्दैन ।”

“अँ आयो सापेक्ष । मेरो सापेक्षता आइन्सटिनको सापेक्षता होइन । यो त आइफल र राइफलको सापेक्षता हो । लिङ्ग, पेट र गिदीको पारस्परिकता व्यक्तिसापेक्ष छ, समाजसापेक्ष छ, देशसापेक्ष छ, विश्वसापेक्ष छ, आकाशसापेक्ष छ, खग्राससापेक्ष छ,” भन्दै यसले यसरी चोर औँला आकाशतिर ठड्यायो । मानौँ, कुनै अलौकिक चमत्कार गर्दैछ । प्रोफेसरसाबको मुन्टो पनि आकाशतिर ठडियो ।

त्यहाँ एउटा बाजले परेवाको एउटा जोडीलाई लखेट्दै रहेछ ।

यो दृश्य पूर्णतः युगसापेक्ष देखिन्थ्यो ।

उसको कुरा र आकाशको दृश्य दुवैलाई बिर्सिन प्रोफेसरले तराईको नस आफ्नो नाकमा हाल्यो र हाच्छिउँ गर्दा भुइँमा लड्यो ।

उसले हत्तपत्त प्रोफेसरलाई उचालेर भन्यो, “अब रह्यो भौतिकवाद । जमानाअनुसार चल्ने हो भने भौतिकवादअनुसार चल्नै पर्यो । आजकल भौतिकवादको जमाना छ । आफ्नी छोरी बेच्ने र अर्काकी छोरी लुट्ने जमानामा तपाईंको आचरण कस्तो हुनुपर्ने, ल भन्नुस् त ? आफ्नी स्वास्नी बेच्नु र अर्काकी स्वास्नी लुट्नु त हाम्रो परम्परा नै हो, रिखीमुनिदेखिकै । अँ, म भन्दै थिएँ, भौतिकवाद ।

यो वादले तपाईंको लिङ्ग, पेट र गिदीलाई भोको राख्तैन तर खाएपछि के खाएँ नभन्नुहोला । अध्यात्मवादजस्तो नखाए पनि खाएजस्तै फुस्रो ओठ लगाएर ईश्वरभजन गर्नुपर्दैन यसमा । चार घण्टा कीर्तन गरेपछि बल्ल माईराम र घनश्यामको भेट हुने समस्या भौतिकवादमा छैन । विचारमा कामदेव छन् भने व्यवहारमा पनि कामदेव छन् । अध्यात्मवादमा चाहिँ उता भने विचारमा ईश्वर भनाउँदो लठुवा लट्ठी लिएर बसेको हुन्छ, यता व्यवहारमा कर्के नजर लगाउँदै माईराम बत्ती गरेकी हुन्छिन् ।”

तराईको नसको गर्मी अलि मत्थर भएपछि र यो लामो उपदेश सुनेपछि प्रोफेसरको अहम् फेरि जाग्यो । यो को हो साला उपदेश दिने ? उपदेश दिने काम त मेरो पो हो । अनि, बिना खण्डनको कुनै सिद्धान्त कसरी स्वीकार गर्नु ! उनी कड्किए, “यसको राजनीतिक पक्ष ख्वै ?”

ऊ पनि झस्कियो । हो त साँच्चै यसको राजनीतिक पक्ष ख्वै ?

“हेर्नुस् हजुर ! राजनीति त जेमा पनि घुसिहाल्छ नि । राजनीतिको अर्थ हो सत्ता । तपाईं प्रोफेसरहरूलाई सत्ताफत्तासित के मतलब ? महत्ता भए पुग्दैन र ? लौ त हजुर, यै हो मैले मानव कल्याणका लागि बनाएको सिद्धान्त–अन्तर्द्वन्द्वात्मक पारस्परिकतासापेक्ष भौतिकवाद ।”

प्रोफेसर कपाल नभएको तालु कन्याउँदै छन् । ऊ घोरिएर प्रोफेसरतिर समर्थनका लागि आशामुखी नजरमा हेर्दैछ ।

दुवैको यो दयनीय अवस्था देखेर ऊ क्षुब्ध भयो र छिटोछिटो सडक पार गरेर पारिपट्टिको पेटीमा गएर उभियो । त्यहाँ एउटा विशालकाय महापुरुष केरा खाँदै थिए । एक काइँयो केरा देब्रे हातमा झुन्डिएको थियो । राष्ट्रिय पोसाक र पोसाकभित्रको प्रशासनिक व्यक्तित्व अनि आडैमा कार, आहा, पक्कै मन्त्री अथवा सचिव हुनुपर्छ । पीडा व्यक्त गर्ने योभन्दा उपयुक्त अन्त कुन ठाउँ होला र ?

“हजुर म त बिलखबन्दमा परेँ ।”

“के भयो ?” गुरु गम्भीर स्वर । ऊ डरायो ।

तापनि अनकनाउँदै–अनकनाउँदै भन्यो, “बडामहाराजधिराजबाट हुकुम एको सत्य रहेछ ।”

“कस्तो सत्य ?” उनी केरा र सत्य दुवै चपाउँदै छन् ।

“म त दुई ढुङ्गाको तरुल भएँ ।”

“उजुर गर्नु ।”

“कहाँ हजुर ?”

“थ्रु प्रोपर च्यानल ‘जिल्ला अदालतमा ।”

ऊ झन् बिलखबन्दमा पर्यो र गम्न थाल्यो । उनले उसको चिन्तनको वास्ता गर्ने कुरै भएन । अतः बाँकी केरा र सत्य निलिसकेपछि कारमा बसे । कुनै कोमलाङ्गिनीले सिँगान पुछेको रुमालमा खोकेझैँ बिस्तारो ख्वाक्क खोकेर कार हिँड्ने उपक्रम गर्न थाल्यो । अनि, सुन्दरीले सुगन्धित वायु लहर छोडेझैँ कारले पनि एक मुस्लो दुर्गन्धित कालो धुवाँ छोडेर गयो ।

ऊ सोच्तै छ । सोच्तै छ र अन्यमनस्क हुँदैछ ।

जम्मा चार आनाको घडेरी र एउटा सानो घर । एउटा पर्खाल लगाएको थियो, साँध प्रस्टियोस् भनेर । सो पनि भुसतिघ्रे छिमेकीले अँठ्याएको छ । बारीमा छ ड्याङ मूला रोपेको थियो, सो पनि अर्को छिमेकी भुसतिघ्रे भाउजूले अँठ्याएकी छन् । पर्खाल लगाउन मद्दत गर्ने भाइ र मुला रोप्न मद्दत गर्ने बहिनी उसलाई लाछी भन्छन् । स्वास्नीले भने लाछी नभनी उसको बहादुरीको बखान गर्दै माइती हिँडी । के गर्नु, स्वास्नीको भुँडी भरेर मात्र नहुने, सिँगारिदिनु पर्ने । अनि, सिँगारेर मात्र काखमा राख्ने परम्परा । अतः

अतः समस्याको समाधान कसरी हुने ?

सोच्तासोच्ता ऊ एउटा निर्णय गर्छ अथवा गर्नुपर्छ अथवा नगरे के गर्ने ? मुला रोप्न मद्दत गर्ने बहिनी उसले भुसतिघ्रे छिमेकीलाई दिने भयो । अनि, पर्खाल लगाउन मद्दत गर्ने भाइ उसले भुसतिघ्रे भाउजूलाई दिने भयो र माइतीमा आफ्ना भूतपूर्व प्रेमीहरूसँग सोह्र सिँगारसहित रमाएकी स्वास्नीलाई झिकाएर सुखसाथ घरजम गर्ने भयो ।

अब भन्नुस् त, भविष्य उज्ज्वल छ कि छैन ?

प्रकाशित मिति : १० असार २०८०, आइतवार ०८:१७