भनिन्छ नि नजिकको तीर्थ हेला ! त्यस्तै भयो कालुपाण्डे पार्क मेरा लागि । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म कालुपाण्डे पार्कसँग आँखा जुधाएको छु मैले । कालुपाण्डेको समाधिस्थललाई साक्षी राखेर दिन बिताएको छु । दुःख र सुखको साक्षी भएर बर्बरिक जसरी कालुपाण्डे बसेको छ । १७ वर्षदेखि गुर्जुधारा वासी भएकी म, कोरोना कालपछि बल्ल साइत जुर्यो पदयात्राका लागि कालुपाण्डे पार्क ।
वास्तवमा हीराको खानीमा झुपडी बनाएर बसेका मगन्ते हौँ हामी । हामीसँग के छ भन्ने कुरा हामीलाई थाहै छैन । आरामले घरको काम भ्याएर, घरकै तातो भात खाएर, घुमघाम गरेर राती आफ्नै न्यानो ओछ्यानमा लुटुक्क सुत्नलाई फर्कन सकिन्छ यो ऐतिहासिक ठाउँबाट । सरल, सुलभ र सुपथ गन्तव्य भएको यो रमणीय स्थललाई किन वास्ता गरिनछु भनेर आफैँदेखि निक्कै रिस पनि उठ्यो ।
बिहानको मौसम चिसोचिसो भए पनि आकाश खुल्ला थियो। नीलो आकाशमा बादलका सेता फूलहरू ढकमक्क फुलेर हाम्रो स्वागतमा नाचिरहेका थिए । उपत्यकाको मौसम बढो लोभलाग्दो थियो । ऐतिहासिक नगरी बलम्बुको आँगन भएर हाम्रो यात्रा दहचोकतिर मोडियो । बलम्बु माविको आँगनबाट हेरिरहेको महालक्ष्मी मन्दिरलाई दाहिने पारेर नैकाप भञ्ज्याङको दृश्यपान गर्दै थियौँ । अगाडिको इँटाभट्टाले चुरोट तान्दै हाँसिरहेको थियो ।
इंँटाभट्टाको धुवाँलाई पछाडि पार्दै अब हामी सृजनाचोक निक्लियौँ । बनकाली स्कुललाई केन्द्र बनाएर सोझै उकालोतिर लम्किँदै गयौँ । अलिमाथि पुगेपछि सल्लाका रुखहरूले सुशोभित हरियो जङ्गल सुसाई रहेको थियो। सहज मार्गले हामीलाई लोभ्याउन सकेन बरु भिरालो र ठाडो उकालो भएको पदमार्गले हामीलाई आकर्षित गर्यो । अब हामी जङ्गलभित्र पस्यौँ । सल्लाको पात झरेर बाटोभरि फिँजारिएका थिए । मेरो अनुहार चिरपरिचित लागेछ कि के हो सल्लाको रुखहरू त मलाई हेरेर झनक्क रिसाए ।
“२०६३ सालदेखि गुर्जुधारा आएर बसेको मान्छे बल्ल यहाँ आउन साइत जुर्यो ।” कानैमा आएर एउटा रुख चिच्याएको भान भयो । साँच्चै सल्लाका रुख रिसाएका रहेछन् । सल्लाका पातमा गोडा चिप्लिएर सुलुलु ओरालो झर्दा पो थाहा पाएँ । पानी पर्दा मात्र बाटो चिप्लो हुन्छ भन्ने विज्ञान गलत साबित भयो । सल्लाको पात त हिलो भन्दा पनि डरलाग्दो हुने रहेछ । अनि गोडा दह्रो पार्दै औँला दबाएर पातहरूलाई कुल्चिँदै उकालो चढ्न थाल्यौँ । उकालोको माथि देउराली रहेछ । थकाइ मार्दै रहेछन् स्थानीय जोडी ।
कुराकानी भयो गिरि थर रहेछ प्रायः वहाँहरू यो बाटो हिँडिरहनु हुँदो रहेछ । हामीलाई उकालो चढ्दा ठसठसी भइरहेको थियो । मुख र कानले कोकाकोलाको बोटलबाट हावा खुस्के जसरी फुसुसुस्स सास छोड्दै थियो । अनि झोलाबाट फेन्टाको बोटल झिक्दै त्यसको पनि सास फुस्सा पार्यौँ । फेन्टा त जीवनजल पो भयो । चिनी बार्ने भीष्म प्रतिज्ञा उकालोमा तोडियो । करिब एक घण्टापछि कुहिरे डाँडा पुग्यौँ । धन्न कुहिरो फाटेको थियो । डाँडामा पुगेपछि काठमाडौँ उपत्यका अवलोकित भयो । पल्लो डाँडामा ह्वाइट गुम्बा झलल्ल देखियो ।
स्वयम्भूको आँखासँग आँखा जुध्यो । हामी भाग्यमानी रहेछौँ मौसम निकै सफा थियो । खुलेको आकाशमा सेता बादलहरूले विभिन्न रूप धारण गरेर लुकामारी खेल्दै आफैँ चित्र कोर्दै आफैँ मेट्दै थिए । मैले पनि कल्पनाका अनगिन्ती कथा र कहानी कल्पिएँ । काठमाडौँ उपत्यकालाई समग्रमा समेट्दै गुम्बातिर लम्कियौँ । पदयात्राभरि हाम्रा पाइताला मात्र घिसारिएका थिएनन् । मन, मस्तिष्क, तर्क, वितर्क सबै जागृत भएर सँगै हिँडिरहेका थिए । बाटोभरि कहिले सुन्तलाको पोको हलुको हुन्थ्यो कहिले कोक र फेन्टाको बोतल खाली । आँखा मात्र चञ्चल थिएनन् दाँत र जिब्रो पनि निकै चलायमान भइरहे ।
सुभांषा,श्रेस्ता र श्रेयमणी ब्ल्याकपिङ्कको गीतमा झुमिरहेका थिए भने बिमला म्याम र सुभाष सर कोरोना कहरपछि संसारले भोग्नु पर्ने आर्थिक, सामाजिक र राजनैतिक चुनौतीहरूका विषयमा बहस गर्दै थिए । भने म खोइ के खोज्दै हिँडेको थिएँ मलाई नै थाहा छैन । दूधमा घिउ बिलाए झैँ म पनि सायद यहाँको प्राकृतिक सौन्दर्यमा बिलाएको थिएँ । गुम्बाको प्रवेश द्वारमा पुग्यौँ, द्वार बन्द थियो । गुम्बाभित्र छरिएको अपार शान्तिले मेरो हृदयको शान्तिलाई लठ्याएर तान्दै थियो । आँखा द्वारमा छोडेर मन मात्र भित्र दगुर्यो ।
शरीर र मन एक ठाउँमा नभएपछि यात्रा निरस त हुने नै भयो अनि कुनै दिन पुनः आउने वाचा गर्दै स्विजरल्याण्ड पार्कतिर हिँड्यौँ । भुटेको चना चरमचरम गर्दै दाँतले बजाएका थिए । अर्कोतिर पड्याक पड्याक गर्दै जुत्ताहरू चकमन्नतामा च्याठ्ठिँदै थिए । मोटर गुड्ने बाटो फराकिलो भए पनि मोटरसाइकल बेधडक कुदेर आँखाभरि धुलो फ्याल्यो । हामी चन्द्रागिरि डाँडाको हाराहारीमा थियौँ । उचाइबाट तल हेर्दा तलका संरचना सबै एक समान देखिएका थिए। अग्लो, होचो कतै देखिएन ।
सानो ठुलोको अस्तित्व नामेट थियो । मान्छे महलमा होस् या झुपडीमा जहाँ भए पनि अदृश्य भयो । मैले हाम्रो घर पहिल्याउन खोजेँ, अहँ मेलोमेसो केही भएन सबै घरहरू समान थिए । गुर्जुधारामा घर खोजेँ तर गुर्जुधारा मात्र ठम्याउन सकेँ । निलआर्मस्ट्रङ्ले चन्द्रमाबाट अमेरिका नदेखेर मात्र पृथ्वी देखे जस्तो । कीर्तिपुर, पाँगा, मत्स्यगाउँ, मातातीर्थ, गुर्जुधारा, चेकपोस्ट, बलम्बु, नैकाप, दहचोक, थानकोट, बाँडभजञ्याङ्ग सबै आरामले शान्तसँग मुस्कुराइरहेका ।जात, वर्ण, लिङ्ग, समूह र समुदाय भन्दा माथि मात्र भूगोल देखियो ।
माथिबाट हेर्दा हाम्रो बस्ती शान्त थियो। अशान्ति र कोलाहल त मान्छेको कारणले पो रहेछ । मान्छेको बस्तीमा मान्छेलाई हेर्दा, बुझ्दा, र सुन्दा कति विविधता छ । मानव बस्ती छोडेर जति जति उकालो चढ्यो उति उति शान्त थियो प्रकृति । ओहो ! स्वयम्भूका आँखाले हेर्नू भनेको सायद यही रहेछ । किन मान्छे उचाइमा पुगेर हेर्न सक्दैन आफैँले आफैँलाई ? जति जति उचाइमा पुगेर खण्ड खण्डलाई हेर्न खोजिन्छ तब सबै अखण्ड मात्र देखिन्छ। के उचाइ भूगोलको मात्र हुन्छ ? उचाइको गणितीय हिसाब मान्छेको विवेकको मापन गर्न किन प्रयोग हुँदैन ?
सोच्दै स्विजरल्याण्ड पार्कको छेउमा थ्याच्च बसेको थिएँ । हेर्दाहेर्दै उपत्यकालाई कुहिरोले डम्म ढाक्यो हरायो तीनै जिल्ला । मन्जुश्रीले आफ्नो खड्गले काट्नु अगिको जलमग्न उपत्यका गोचर भयो। चोभारको गल्छीबाट मन्जुश्रीले पानी नकाटेको भए उपत्यकामा आज भ्यागुताहरूको मात्र वासस्थान हुन्थ्यो होला ? उपत्यका वासीहरू कहाँ बस्थे होलान् ? के के आउँछ आउँछ यो मस्तिष्कमा पनि । थरीथरीका मनुवाहरू रमाइलो गर्न आएका रहेछन् पार्कमा । कतै पुलाउ र तरकारी पाक्दै थियो कतै काउली काटिँदै थियो । कतै बोतल खोलिँदै थियो । आँखै अगाडि सुकुल भोज पनि चल्दै थियो ।
टिम्मुर हालेको टमाटरको अचार नाकैमा आएर मगमगायो जिब्रोले छररर पानी पनि छोड्यो । हाम्रो झोलामा किनेका खानेकुराहरू मात्र थिए । त्यो पनि गुलियोका चिजबिज धन्न नानीहरूले चाउचाउ बोकेका रहेछन् र चाउचाउ साँधेर खाने सल्लाह भयो । हामी मुख आँ गरेर पलेँटी कसेर बसिरह्यौँ । श्रेस्ता र सुभांषाले मीठो पारेर चाउचाउको चटपटे बनाएपछि मात्र जिब्रो तह लाग्यो । आधा घण्टा हिँडेपछि हामी कालुपाण्डेको समाधिस्थलमा आइपुग्यौँ। मौसम सफा भएको कारण एकातिर धादिङ जिल्लाका सुन्दर बस्तीहरू लमतन्न निदाइरहेका देखिए । भीमढुङ्गाको दृश्य पनि धुमिल देखियो ।
कीर्तिपुरको दोस्रो युद्धमा कालुपाण्डेले वीरगति प्राप्त गरेका थिए । कालू पाण्डेको इच्छा बमोजिम उनको दिवङ्गत शरीरलाई गोरखा देखिने ठाउँमा गाडिदिनू भन्ने इच्छा अनुसार कालुपाण्डेको समाधिस्थलको इतिहास छ । हिजोआज कालुपाण्डेको समाधिस्थलमा उनको प्रतिमा निर्माण गरिएको छ। पाण्डेको माटोप्रतिको प्रेमलाई सम्झेर निकै बेर भावुक भएँ र हृदयबाट सहिदलाई सलाम गरेँ । नजिकै भ्यु टावर भर्खरै बनेको देखेर रिस पनि उठ्यो । अटल, अविचलित र अविस्मरणीय प्राकृतिक भ्यु टावरको छातीमा पैसाको खोलो बगाएर किन बनाएका होलान् यो मानव निर्मित अर्को भ्यु टावर ।
यहाँबाट गोर्खासम्म देखिन्छ भनेरै कालुपाण्डेको समाधिस्थल निर्माण गरिएको इतिहास सर्वविदितै छ अनि किन ऐतिहासिक डाँडाको निधारमा आएर भ्यु टावर बनाएको होला ? सायद ठुलै रहस्य होला भ्यु टावरको तर त्यो रहस्य मेरो मस्तिष्कले ठम्याउन सकेन । किनकिन मलाई भ्यु टावर चढ्न मन लागेन अनि मनकामना मन्दिरतिर लागेँ । ऐतिहासिक हिसाबले हेर्ने हो भने यो क्षेत्रलाई गढीको रूपमा पृथ्वीनारायण शाहले प्रयोग गरिएका थिए । पृथ्वीनारायण शाहलाई झट्ट सम्झिन पुगेँ ।
साँच्चै मनोकामना पूर्ण हुने मन्दिर निर्माण गर्न लगाएका रहेछन् मैले पनि आँखा बन्ध गरेर मनोकामना पूर्ण हुने वर मागेँ । आँखा खोल्दा झलमल्ल उपत्यका मुस्कुरायो। प्रदूषणको वायुले धुकुधुकु श्वास फेरिरहेको आजको काठमाडौँ त यहाँबाट हेर्दा भुतुक्कै पार्ने खालको छ भने त्यो बेला स्वास्थ्य र शान्त उपत्यका कस्तो देखिन्थ्यो होला ? मनकामना मन्दिरबाट सिँढीको बाटो हुँदै हामी इन्द्र दहको दर्शन गर्न गयौँ । जातीय विविधता रहेको इन्द्र दह क्षेत्रमा सांस्कृतिक विविधता पनि बेजोडको रहेछ । पिकनिक खान आउने समूहहरू इन्द्र दहको वरिपरि पनि नाचिरहेका थिए । इन्द्रले नुहाएको दह भएर इन्द्र दह भएको रे ।
नागको मूर्ति दहको बिचमा रहेछ । सायद नागले रक्षा गरेर बसेको होला दहलाई । पुजारीजीको हातबाट टीका लगाउँदै दह पुराण सुन्न पाएँ । पुराण अनुसार सत्य युगमा भगवान् इन्द्रले गौतम ऋृषिकी पत्नी अहिल्यासँग झुक्क्याएर नाजायज सम्बन्ध राखेका थिए । ‘‘गौतम ऋृषिले इन्द्रको जाल थाहा पाएर इन्द्र र अहिल्या दुबैलाई श्राप दिए । इन्द्र पाप मोचन गर्न यहाँ आए अनि लामो समयपछि श्रापमुक्त भएर दिव्य शक्तिले पोखरी सृजना गरेर त्यही पोखरीमा नुहाएर स्वर्ग प्रस्थान गरेका थिए रे,” भन्ने सुन्ने बित्तिकै मेरो कन्पारो तात्यो ।
निर्दोष अहिल्या चाहिँ पत्थर भएर बस्नुपर्यो । इन्द्र त पर्यटक भएर यस्तो सुन्दर, शान्त ठाउँमा आएर पो ! रमाइलो गरेर बसेछन् । मेरो दिमाग फेरि घुम्यो इन्द्र जस्ता छलीले निर्माण गरेका यस्ता असङ्ख्य इन्द्र दहहरू यो धरामा भएर त पापीहरू निर्धक्कसँग पटक पटक पाप गर्दै पाप मुक्त भएर हिँडिरहेका त होइनन् ? मेरो मनमा चस्का पस्यो । मनकामना देवीतिर फर्किएर तुरुन्तै वर मागेँ, ‘‘हे देवी जानीजानी पाप गरेर पाप पखाल्दै चोखो र पवित्र पार्न सक्ने यस्ता शक्तिशाली दहहरूको जम्मै पानी सुकाइदेऊ र पापीहरूलाई उचित दण्ड सजाय देऊ ।” मेरो कुरा सुनेर पण्डित बाजेले हाँस्दै अरू पनि पौराणिक कथाहरू सुनाए ।
इन्द्र दहमा भाद्र शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । मान्छेहरूको घुइँचो बिहानदेखि रातीसम्म हुने गर्छ । सबैतिरका दृश्यहरू क्यामरामा भन्दा बढी हृदयमा कैद गरेर हामीहरू बाँडभञ्ज्याङको ओरालोबाट झर्न थालौँ । ओरालो त चाँडै झरिएला भन्ने विश्वासलाई श्रेस्ता र सुभांषाले चौपट पारे । उनीहरू त हिँड्न नसकेर कक्रक्क परे । अब परेन फसाद । न बोक्न सक्नु छ, न गाडी नै छ । धन्न झोलामा खाने कुरा थियो । बाटोमा आराम गराउँदै खाने कुरा खुवाउँदै सुस्त सुस्त लिएर बढो मुस्किले झन्डै दुई घण्टा लगाएर थानकोट निस्किन सफल भयौँ । थानकोटबाट राती आठ बजे गाडी चढेर गुर्जुधारा आयौँ ।
अनिता कोइराला । काठमाडौं