सरल स्वभाव र सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका कारण राउटे समुदायसँग पनि सहज रूपमा घुलमिल भएका व्यक्ति हुन् लालबहादुर खत्री । २०७५ असार १७ गते बाट सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामा लालबहादुर दम्पती जोडी शिक्षकका रूपमा कार्यरत छन् ।
बिहान उठेदेखि साँझसम्म राउटे समुदायवरिपरि रहने लालबहादुर र पत्नी दुर्गा खत्री राउटे समुदायको मनमै गढेका छन् । समुदायमा शिक्षिकाका रूपमा कार्यरत भइसकेपछि राउटे समुदायको रेखदेखदेखि सोही समुदायका बालबालिकालाई पढाउन लेखाउन व्यस्त छन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय न त पढ्न मान्छ, न स्वास्थ्य उपचारमा विश्वास गर्छ ।
तर, पनि स्वास्थ्य उपचार, शिक्षा, सरसफााइ सिकाउने कुरामा अग्रसर छन् खत्री दम्पती । यो दम्पती कहिले राउटेसँगै लेख चढ्छ, कहिले उनीहरूसँगै बेँसी झर्छ । यसरी नै लालबहादुर दम्पतीको राउटे समुदायसँगै ६ वर्ष बितेको छ । दैलेखको गुराँस गाउँपालिका ३ मा जन्मनुभएका लालबहादुर र दुल्लु नगरपालिका ६ मा जन्मेकी दुर्गा खत्रीले २०६६ सालमा लगनगाँठो कसेका थिए । अहिले राउटे समुदायमा कार्यरत उनीहरूको सम्बन्ध झनै कसिलो भएको छ ।
मनकामना होटेलदेखि राउटे समुदायमा
लालबहादुर दैलेखमा एक होटेलमा काम गर्थे भने पत्नी दुर्गा बोर्डिङमा पढाउथिन् । एकपटक मात्र राउटेलाई देखेका दुवैलाई राउटे समुदायसँग बसेर लामो समय भलाकुसारी गर्ने इच्छा थियो । नभन्दै त्यो पूरा भएको जोडी शिक्षक लालबहादुर बताउनुछन । ‘मनकामना होटेलमा काम गर्थें,’ उनी भन्छन, ‘मेडमले बोर्डिङ पढाउने । एकपटक मात्र देखेको राउटेलाई, त्यसपछि देखेन । मनमा इच्छा थियो यिनीहरूसँग लामो समय बसेर यो समुदायको विषयमा जान्न पाए हुन्थ्यो भन्ने । नभन्दै पछि एकैपटक काम गर्ने अवसर पनि मिल्यो ।’
राउटे समुदायका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यसहित राउटे समुदायमा लागेको लालबहादुरको भनाइ छ । यही समुदायमा ६ वर्ष बित्दै जाँदा थुप्रै असहजता र चुनौतीकोे सामना गरेको उनी सम्झनछन् । ‘राउटे समुदायमा काम गर्न चुनौती छ भनेर छोड्यो भने त्यो चुनौतीमै सीमित हुन्छ,’ उनी भन्छन्, ‘म राउटे समुदायमा आएसँगै चुनौतीसँगै अवसर देखेर यही समुदायको हितको निम्ति लागेको छु ।’ काम गर्ने क्रममा गैरसरकारी संस्थाले हेरेको भनेर सरकारले नहेरेकोमा दुःख पनि लाग्ने गरेको उनी बताउँछन् ।
पाँच वर्षमा ७८ ठाउँमा डेरा
विसं २०७५ बाट २०८० सम्म राउटे समुदायसँगै ७८ ठाउँमा डेरा सरे लालबहादुर । सोसेक नेपालले राउटे समुदायमा राउटे परियोजना सञ्चालन गरेपछि राउटे समुदायसँगै डेरा सरेका हुन् । ‘पाँच वर्षको अन्तरालमा ७८ ठाउँमा बसाइ सरें । दुःख पनि धेरै पाइयो ।’ पुरुष मात्र हुँदा कोठा नपाएको पनि दिन उनिसँग ताजै छन् । पछिल्लो समय महिला छ भनेर कोठा दिने गरेको उनको भनाइ छ । बाहिरको मान्छे हो राउटेहरू यहाँ आउछन् भनेर पनि कोठा पाइएन ।
अहिले दम्पती नै जोडी शिक्षकका रूपमा कार्यरत भएपछि भने सहज भएको यो दम्पती बताउँछ । सुरुमा निकै असहज भएको तर बिस्तै राउटे समुदायसँगे घुलमिल हुन थालेपछि सहज भएको दुर्गा खत्री बताउछन । ‘सुरु सुरुमा समस्या भयो । राउटे समुदायसँग घुलमिल थिएन,’ उनले भने, ‘अहिले राउटे समुदायमा दाइभाइ, दिदी, मामामाइजू सबै नातेदार बनाएका छौँ । उनिहरूले हामीलाई निकै माया गर्छन । एक दिन नदेखे कहाँ गए भनेर खोज्न थाल्छन ।’ पहिले राम्रोसँग नबोल्ने उनिहरू अहिले आफ्ना भित्री कुरा पनि खोल्ने उनिहरूको अनुभव छ ।
‘पहिले कुनै खबर नगर्ने राउटे समुदाय अहिले केही भइहाले सुरुमै मलाई खबर गर्छन्,’ लालबहादुर भन्छन, ‘पछिल्लो समय जुनसुकै समस्या पनि मैले पकेटबाट मिलाइदिन्छु । राउटेसँगै सहयात्री भइदिन्छु । सहयोग गर्ने गरेपछि मलाई सबै कुरा भन्छन् । तर मदिरा सेवन गरेको बेला बिर्सिन्छन् ।’ नेपालको लोपोन्मुख जाति राउटे समुदायलाई मूलप्रवाहीकरणमा ल्याउन राज्य लाग्नुपर्ने लालबहादुरको भनाइ छ । राज्यले समुदाय सुहाउँदो नीति ल्याएमा ६ महिनादेखि एक वर्षभित्र मूलप्रवाहीकरणमा आउने उनको विश्वास छ ।
सरकारले के गर्नुपर्छ ?
५–६ वर्षदेखि राउटे समुदायमा काम गरिरहेका लालबहादुर राउटेलाई बिगार्ने सरकार जिम्मेवारी हुनुपर्ने बताछन् । ‘सोझै सरकारको गल्ती छ । पहिले दुई हजार भत्ता मात्र थियो । पछि भत्ता बढाउने र बाहिरबाट आउने सहयोगले बिग्रेका छन् । त्यसरी दिइएका भत्ताले नै राउटे समुदाय बिग्रेको देख्छु । सरकारले चार महिनामा एकपटक वा एकमुष्ट रकम बैंकमा जम्मा गर्न लगाइदिनुपर्छ,’ उनको सुझाव छ ।
अघिअघि राउटे समुदाय पछिपछि लालबहादुर दम्पती
राउटे जहाँ जान्छन् यो दम्पती त्यहीँ पुग्छ । यो जोडी शिक्षकले बालबालिकालाई अनौपचारिक शिक्षा दिने, जीविकोपार्जन, उनीहरूको सरसफाइ र दैनिक जीवनमा सहजता ल्याउने काम गरिरहेको छ । आफूहरू राउटे समुदायमा लाग्नुको उद्देश्य उनीहरूलाई कुनै न कुनै व्यवस्थित बाटोमा ल्याएर छोड्न पाइयोस् भन्ने नै हो ।
सकारात्मक पक्ष र आएको परिर्वतन
राउटे समुदायमा ५–६ वर्ष बिताउँदै गर्दा थुप्रै सकारात्मक पक्षहरू भेटेको बताछन् लालबहादुर । यो समुदायको सकारात्मक पक्ष भनेको महिलामाथि दुर्व्यवहार हुँदैन । बाललबालिकालाई कुट्ने पिट्ने र एकापसमा लड्ने पनि गर्दैनन् । यस्तै महिनावारी पनि बार्दैनन् । ‘बस्ती सर्नुपर्दा हामीलाई सोध्छन्,’ लालबहादुपत्नी दुर्गा भन्छिन्, ‘बालबालिकालाई खेल खेलाउँदा बाहिर धेरै नजाने भएकाले त्यसमा पनि सहजीकरण गर्छौ । पहिले घर लिपपोत नगर्ने यो समुदाय अहिले लिपपोत गर्छन् । पहिले बस्तिभित्र दिशा गर्थे, अहिले बाहिर गर्छन् । यस्ता थुप्रै परिवर्तन उनीहरुमा आएका छन् ।’
जितेन्द्र थापा । सुर्खेत