अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परीक्षमा अनुत्र्तीण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ ।
यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।
तत्कालीन प्रमुख शाहीले लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ ।
आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सत्यपाटी संवाददाता । काठमाडौं