सूचनाको शक्ति - The Power Of Information

        

‘१४ प्रतिशत किशोरी १५ देखि १९ वर्षकै उमेरमा गर्भवती’

नेपालमा पाँच वर्षमुनिको बाल मृत्युदर घटेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

सन् १९९६ मा ५ वर्षमुनिका प्रति हजारमा जीवित जन्ममा ११८ मृत्यु हुने गरेकोमा हाल प्रति हजार जीवितमा ३३ को मृत्यु हुने गरेको देखिएको छ । सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेकोमा पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।

स्वास्थ्यका धेरै क्षेत्रको प्रगति भएको देखाएपनि केही चुनौती रहेको सर्वेक्षणले औंल्याएको छ । नेपालमा ६ महिनामा भन्दा कम उमेरका शिशुलाई पूर्ण स्तनपान संख्या घट्दै गएको छ । सन् १९९६ मा ७५ प्रतिशत भएकोमा सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ ।

साथै नवजात शिशु दर पछिल्लो दशकमा प्रति हजार जीवित जन्ममा २१ जनाको मृत्यु हुन्छ । यस्तै, नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको सर्वेक्षणले देखाएको छ । स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको सर्वेक्षणमा उल्लेख छ । किशोरी गर्भवती हुने दर मुस्लिम समुदायमा धेरै छ । १५–१९ वर्ष उमेरका २२ प्रतिशत मुस्लिम समुदायका किशोरी र २१ प्रतिशत दलित समुदायका किशोरी गर्भवती हुने गरेका छन् ।

सबैभन्दा कम ब्राम्हण–क्षेत्री समुदायका ८ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् । यस्तै, कर्णालीमा सबैभन्दा धेरै २१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ८ प्रतिशत किशोरी गर्भवती हुने गरेको सर्वेक्षणले देखाएको छ । ३ प्रतिशतको १५–१९ वर्षकै उमेरमा हुने विवाह गर्ने सर्वेक्षणले देखाएको छ ।

नेपाली महिलाले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार हाल ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा (बच्चा जन्माउनुअघिका जाँच) लिने गरेका छन् ।

यस्तै, ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन र १५ प्रतिशतले परम्परागत विधिको प्रयोग गर्छन् । महिला बन्ध्याकरण, डिपो र इप्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधि नेपालमा सबैभन्दा बढी प्रयोग गर्ने पाइएको छ ।

स्वास्थ्य सर्वेक्षण अनुसार नेपालले कुल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ । साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चा जन्माउने गरेकामा सन् २०२२ मा प्रति महिला २.१ बच्चा जन्माउँछन् ।

नेपालमा १५ वर्ष वा सोभन्दा माथिमा १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप समस्या रहेको सर्वेक्षणले देखाएको छ । स्वास्थ्य सर्वेक्षणले १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ताका लक्षण अनुभव गर्ने गर्छन् ।

सर्वेक्षण १३ हजार ७८६ घरधुरीमा गरिएको जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये छनोटमा परेका १४ हजार ८४५ महिला र ४ हजार ९१३ पुरुषलाई अन्तर्वार्तामा समावेश गराइएको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार ०७:४४