भेरी अस्पताल नेपालगन्जमा झन्डै डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् ।
भेरी अस्पताल, नेपालगन्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप हाल प्रदेश आपूर्ति केन्द्र र इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत स्टक नभएको जानकारी सेवाग्राहीलाई दिइएको छ ।
अस्पतालले सो खोप उपलब्ध नहुँदासम्म सेवाग्राहीलाई उपलब्ध गराउन नसकिने जनाएको छ । स्थानीय सीता केसीले दुईजना मिलेर अस्पताल बाहिरबाट खोप लिएर छोरीलाई लगाएको बताइन् । उनले निःशुल्क खोप पाइने भएकाले पैसासमेत नलिएर अस्पताल आएको बताइन् ।
भेरी अस्पतालका सूचना अधिकारी डा.संकेतकुमार रिसालले जहाँबाट खोप आपूर्ति हुने हो त्यहाँबाटै आपूर्ति नभएकाले अभाव भएको जानकारी दिँदै त्यसका लागि पहल भइरहेको बताए । उनले भने, ‘अस्पतालमा भएर नदिएको होइन, नभएकाले नै अस्पतालमा अभाव भएको हो ।’
अस्पताल प्रशासनका अनुसार सो खोप लगाउने बिरामी दैनिक एकसय हाराहारीमा अस्पताल आउने गर्छन् । संघबाट प्रदेशमा आउने र प्रदेशबाट मात्रै अस्पतालमा खोप आउने बताइएको छ । कुकुरले टोकेको लगायतका अवस्थामा सो खोप लगाइने गरिन्छ ।
सत्यपाटी संवाददाता । बाँके