सूचनाको शक्ति - The Power Of Information

        

बजेट पारित हुन नदिने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले बताए।

उनले असन्तुलित विषयलाई सन्तुलित बनाएरमात्रै बजेट पारित गर्न सकिने बताए। बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफूहरू संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ। उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि सामानरूपमा वितरण हुनुपर्ने उल्लेख गरे।

बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सबै सदस्यहरूले कडारूपमा धारणा राखेको पाण्डेले बताए।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:४०