सूचनाको शक्ति - The Power Of Information

        

एक दिवसिय विश्वकप क्रिकेट छनौटमा आज नेपाल र वेष्ट इन्डिज भिड्दै

एक दिवसिय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा बिहीबार नेपालले वेष्ट इन्डिजको सामना गर्नेछ ।

दुईपटकको एकदिवसीय तथा टी–ट्वेन्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्न लागेको हो । जिम्बावको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बजे यो खेल सुरु हुनेछ ।

वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो । यसपटक भने वेष्ट इन्डिज नेपालसँगै छनौट प्रतयोगिता खेल्दछ । प्रतियोगिताको पहिला खेलमा नेपाललाई जिम्बाबेले ८ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग यही शनिबार खेल्दैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् भने उता, समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।

समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफ्गानिस्तान सिधै विश्वकपका लागि छनोट भईसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०७:४२