सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री सिंहको पार्थिव शरिर बझाङ लगियो

मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर बझाङ पु¥याइएको छ ।

मन्त्री सिंहको पार्थिव शरीर दाहसंकारका लागि आजै नेपाली सेनाको हेलिकोप्टर मार्फत गृह जिल्ला बझाङ लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जोगेश्वर भण्डारीले बताउनुभयो ।

कैलालीमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएपछि उहाँको पार्थिव शरीर बझाङ लगिएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर उहाँलाई श्रद्धाञ्जली दिनुभएको थियो ।

धनगढी रंगशालामा राखिएको मन्त्री सिंहको पार्थिव शरिरमा प्रदेशका मन्त्रीहरु, निवर्तमान मुख्यमन्त्री लगायतले श्रद्धाञ्जली दिएका थिए । मंगलबार मन्त्री सिंह चढेको जीप डडेल्धुराबाट बझाङ जाँदै गर्दा बझाङको केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

उहाँ सपरिवार कुल देउताको पुजा गर्न बझाङ पुग्नुभएको थियो । दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशीको उपचार भइरहेको छ ।

मन्त्री सिंहसहित तीनै जनाको दाहसंस्कार आगामी ९ गते शनिबार बझाङमा गरिने उहाँको परिवारले जनाएको छ । मन्त्री सिंहको निधनको शोकमा बुधबार सुदूरपश्चिम सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १८:०६