पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।
गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए ।
आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए । पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो ।
सूर्योदय हेर्न र घरबास सेवा होमस्टेका लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार १०० मिटरको उचाइँमा रहेको छ । पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ ।
सत्यपाटी संवाददाता । धनकुटा