सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कविता : राष्ट्रिय बस्तु

संगीत छ राष्ट्रिय धुन दिने नरसिंगा, दमाहा, सनाही, ट्याम्को सुनिदैन कुनै अन्तरामा

देशमा छन् यावत
राष्ट्रिय बस्तुहरु

पशु छ
निख्खर कालो
अथवा सेतो, रातो, खैरो वा झालेमाले
नौरङ्गे डाँफे चरी
राष्ट्रिय जङ्गलको राष्ट्रिय पंक्षी
सिम्रिक राष्ट्रिय रङ्ग
र चन्द्रसूर्यको राष्ट्रिय झण्डा
मयलपोसमाथि आयातित कोट
राष्ट्रिय पोशाकको कक्टियल सभ्यता

यावत छन् राष्ट्रिय बस्तुहरु
राष्ट्रिय नक्सा छ
कहिले खुम्चने
कहिले तन्कने
कहिले दरोगाले परेड खेल्ने
कहिले रगतले होली खेल्ने
सधैँ पराजित, सधैँ पराधीन
कहिल्यै स्वाधीन हुन नसकेको
देशको नक्सा छ

यावत राष्ट्रिय बस्तुहरु छन्
संगीत छ राष्ट्रिय धुन दिने
नरसिंगा, दमाहा, सनाही, ट्याम्को
सुनिदैन कुनै अन्तरामा
महाकालीवार छ, राष्ट्रिय गान
वीरहरु छन्, चाँदनी–दोधाराझैँ
विरङ्गना छैनन्
सती छैनन्, सावित्री पनि छैनन्
राष्ट्रिय मान छ
राष्ट्रिय गान छ

देशमा छन् यावत
राष्ट्रिय बस्तुहरु
सत्ता र शासन छ राष्ट्रिय
समावेसी संविधान छ राष्ट्रिय
नागरिक छन् राष्ट्रिय
राष्ट्रिय नक्साको सम्पूर्ण हिस्सामा
र राजकीय सत्ताको मौलिक परिधानमा
कहाँनेर देखिन्छ राष्ट्रिय अनुहार ?
यावत छन् राष्ट्रिय बस्तुहरु ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०६:१३