सूचनाको शक्ति - The Power Of Information

        

रानीतलाउ उपन्यास अंश–२

“ममी ! म कसरी जन्मेँ ?”

मर्ने गरी दाँत किटेँ । कन्ने व्यथा लाग्यो । ‘अह.. अह..’को आवाज चर्कियो ! दिसा–पिसाब लाग्लाजस्तो भयो । चारैतिर झिलिमिली तोरीको फूल देखियो ।

प्रिय र पुण्यस्थल रानीतलाउ । कुइन लेक भनिन्छ अङ्ग्रेजीमा ।

वरिपरि बोटबिरुवाका कारण हरियाली, बीचमा सानो तलाउ, तालको किनारमा गणेशको मन्दिर र पश्चिमी द्वारमा हनुमानको मन्दिर । मन्दिरको गेटमै विराजमान थियो सर्वशक्तिमान् हनुमान्को मूर्ति । पौराणिककालमा रावणले सीतालाई हरेर लङ्का पुर्याएको र हनुमानले फिर्ता ल्याउन सहयोग गरेको किम्वदन्ती छ ।

तलाउ वरिपरि स–साना घरहरु छन् । बस्ती बाक्लो देखिन्छ । बस्तीमा हिन्दु, मुस्लिम, मधेसी र पहाडी मिश्रण छ । कोही टाँगा चलाउने रसगुल, कोही माटाको भाँडा बनाउने कुमाल र कोही घाँस बेच्ने घसियारा बस्छन् ।

नजिकै गगनगञ्ज नामक ठाउँ छ । यही ठाउँमा छ बादीजातिको टोल, यौन व्यापार फस्टाएको सहरभित्रको पृथक् बस्ती । सबैले आ–आफ्नो पेसा र अस्तित्व बोकेका छन् । सबै जातिको आ–आफ्नै इतिहास छ । नजिकै महेन्द्र स्कुल छ, म पढेको स्कुल । कालोपाटीमा ‘क ख ग….’ पढेको । सरले हात समातेर लेख्न सिकाउनुभएको । मैले एकएक अक्षरहरु चिनेको महेन्द्र स्कुल ।

त्यहीँ हो मैले धर्ती टेकेको ठाउँ । म जन्मेको घर पनि त्यहीँ छ । मैले पाइला चालेको भूमि हो रानीतलाउको सेरोफेरो । यसैको प्राङ्गण हो मैले खेलेको, उफ्रेको ठाउँ । यही ठाउँमा मैले माटोको भात पकाइ खेलेँ । तलाउवरिपरि धुलो उडाएँ । माटाको भाँडाकुटी बनाएर खेलेँ । लुकामारी खेलेँ । साथीहरुसँगै चुङ्गी खेलेँ । गट्टा खेलेँ । खुट्टी खेलेँ ।

बुदनी, चुनरी, आश्मा, यमुना, सयदा, फरिदा, लतिफ, अतिक सबै मिलेर खेल्यौँ । हिन्दु, मुस्लिम, घसियारा कुमाले, मधेसी, पहाडी, बादी सबै सँगै खेल्यौँ । रानीतलाउ किनारमा बेहुलाबेहुली बनेर खेल्यौँ । बाल्यकालको बिहेबारी खेल्दाको मजा नै बेग्लै हुन्थ्यो । साथीसाथीमै बेहुलाबेहुलीको भूमिका सम्झिँदा आनन्द आउँछ ।

केटाहरु बेहुला बन्थे, केटीहरु बेहुली । मण्डप बनाउँथ्यौँ र फेरो हाल्थ्यौँ । रानीतलाउमा निर्वस्त्र पौडिन्थ्यौँ । सुसु देखाएर पौडेको अहिलेजस्तै लाग्छ । हाम्रो गाउँमा धर्म–जातको भेद थिएन । सबै अन्जान, अबोध र अनभिज्ञ थिए । सबै साथीसाथीबीच मित्रता र घनिष्टता थियो । सम्झँदा स्मरणका छालहरु उर्लिन्छ ।

प्रिय रानीतलाउ ! हरेक सपनीमा आउने मेरो रानीतलाउ ! मेरो मन–मस्तिष्कको रेशारेशामा बसेको छ रानीतलाउ । हरेक नसा–नसामा छ । कल्पनाको सेरोफेरोमा छ । प्रसव पीडामा छट्पटाएर सात फन्को मारेकी थिइन् रे मेरी आमाले रानीतलाउ ।

मेरा साथीसङ्गी सबै ‘अवदी’ भाषा बोल्थे । मैले पनि अवदीमै तोते बोल्न सिकेँ र बिस्तारै हुर्कंदै गएँ । हुर्कंदै जाँदा मनमा अनभिज्ञता सल्बलायो । अनेकौँ जिज्ञासा जागे । बदलिँदो उमेरको प्रभाव होला, अचम्मको कौतूहलता हुने !

जिज्ञासु हुदै एक दिन ममीसँग सोधेँ, “ममी ! म कसरी जन्मेँ ?”

ममीले खिसिक्क हाँसेर भन्नुभयो, “किन चाहियो, बेटा ?”

“भन्नुस् न । म सुन्छु, ममी ! बुझ्न मन लाग्यो ।”

“ठूली भइसकी, तैपनि बच्चाको जस्तै व्यवहार गर्छे मेरी छोरी !”

“ममीको काखमा सधैँको बच्चा नै छु र बच्चै रहन चाहन्छु ।”

“अब त ठूली भइसक्यौ नि, बेटा !”

“ममी, मलाई ठूली हुने मन छैन । ठूलो भएपछि सम्पूर्ण व्यवहार र जिम्मेवारीको बोझले थिच्छ । मलाई त सधैँ बच्चा नै रहन मन छ ।”

ममीले बत्ती काट्दै भन्नुभयो, “आऊ, बेटा ! बत्ती काट्न ।”

मैले भनेँ, “जान्दिनँ बत्ती बनाउन, कसरी काट्ने ?”

“म सिकाइदिन्छु ! सिक्नुपर्छ छोरीले ।”

“म जन्मेको कुरा भन्ने भए सिक्छु ।”

“म भन्छु तिमी जन्मेको कहानी । आऊ बस, बत्ती बनाऊ ।”

मैले आज्ञाकारी हुँदै भनेँ, “ममी, कपास दिनुस् न त ।”

ममीले कपास दिँदै भन्नुभयो, “औँलाले बटार्दै तान्दै लामो बनाऊ । एउटा हातमा कपास लेऊ ।”

मैले हातका औँलाहरुले कपास बटार्दै भनेँ, “हेर्नुस् न, ममी ! बन्यो बत्ती ।”

“पाँच पटक पाँचै औँलालाई फन्को मार, पाँच सुते बत्ती बन्छ ।”

कपासको रेशालाई पाँच पटक फन्को मार्दै मैले भनेँ, “हेर्नुस्, ममी ! बत्ती बन्यो ।”

ममीले खुसी हँुदै ‘स्याबास’ भन्नुभयो । मैले ममीसँगै बसेर बत्ती कातेँ ।

ढिपी गर्दै भनेँ, “खै त म जन्मेको भन्नुभएको ?”

“कति जिद्दी गरेकी, छोरी ! ल तिम्रो कौतूहलता मेटाउँछु । धैर्य भएर सुन । श्री स्वास्थानीको कथाजस्तै सुन्नुपर्छ तिमीले ।”

मैले प्रतिज्ञा गर्दै भनेँ, “हुन्छ, ममी ! म सुन्छु ।”

बत्ती काट्दै ममीले भन्नुभयो, तिमी गर्भमा आएपछि मेरो रजस्वला रोकियो । म अबुझ थिएँ, किन समयमा नछुने भएन भन्ने लाग्यो । केही दिनमा वाकवाकी लाग्यो । उल्टी भयो । खाने वस्तुहरु गन्ध आयो । खानै मन लागेन । जिउ गल्यो । रिँगटा लाग्यो । म अचम्ममा परेँ, यस्तो त कहिल्यै भएको थिएन ! के भयो ? के बिमारी लाग्यो ?

मैले सासूआमासँग भनेँ, “आमा, सन्चो भएन । खै के भयो !”

सासूआमाले भन्नुभयो, “के भयो, सावित्रा ?”

“आमा, वाकवाकी हुन्छ । खान मन छैन । रिँगटा लाग्यो ।”

“कहिले नछुने भएकी ?”

“पहिलो महिनाको पन्ध्र गते । एक महिना बीस दिन भयो । बीस दिन भयो महिना कटेको ।”

“तिमी गर्भिणी भयौ, सावित्रा ! घरमा नयाँ सदस्य आउँदैछ । बच्चा जन्मिनेवाला छ । नआत्तिअ, यस्तै हुन्छ ।”

“हो र, आमा !”

“हो नि, सावित्रा !”

म चकित भएँ । भर्खर बिहे भएको थियो, बच्चा जन्माउने सोचेकै थिइनँ । थाहा पनि थिएन । लौ के आइलाग्यो ? दिनहरु बित्दै गए । तीन महिना पुग्यो । पेटमा केही सुस्त सल्बलाउन थाल्यो । आफैँलाई डर लाग्यो, के होला यस्तो सल्बलाउने ?

सासूआमासँग सोधेँ, “आमा, मेरो पेटमा के भयो ? सल्बलाउँछ, चल्छ !”

“सावित्रा, पेटको बच्चा चलेको हो, धन्दा नमान । बच्चाको विकास हुँदैछ ।”

प्रतिदिन पेट ठूलो हुँदै गयो । भित्र–बाहिर गर्न पनि गाह्रो हुन थाल्यो । उठ्न–बस्न झनै गाह्रो भयो । भारी नै बोकेको जस्तो । कहिले एउटा खुट्टा छोटो भएजस्तो । सुत्दा ओल्टोकोल्टो फेर्न गाह्रो । कताकता सकस महसुस हुने । जति पेट बढ्दै गयो, उति सल्बलाउने । चल्ने । खुट्टाले भुक्कभुक्क हान्ने । बाहिरबाट अरुले देख्छन् जस्तो महसुस हुने । बच्चा चलेको आफूले राम्रै महसुस गर्न सकिने ।

नेपालगञ्जको गर्मी, छपक्कै घमौरा आयो । घ्याम्पाजस्तो पेटमा रातै छोप्यो घमौराले । पसिनाले लपक्कै कपडा भिज्यो । दस महिनासम्म बस्यौ तिमी मेरो पेटभित्र । मलाई अत्यास लाग्यो, यो भारी कहिले बिसाउने ? मरिन्छ कि बाँचिन्छ ! यसो ऐना हेर्यो, अनुहार सोहोरिएको देख्थेँ । स्वरुप नै बद्लिएको थियो । समय बित्दै गयो । भारी बिसाउन दसौँ महिना लाग्यो ।

एक रात म मध्यरातमा झल्यास्स ब्युँझिएँ । तल्लो पेट कुटुकुटु दुखिरहेको थियो । रनक्क दुख्ने र फेरि बिसाउने भइरहेको थियो । अगाडि–पछाडिको अङ्ग नै खस्लाजसरी दुख्थ्यो । एकछिन सन्चो लाग्ने, फेरि रनक्क दुख्ने । दुखेर सुत्नै सकिनँ । उठेर भित्र–बाहिर गरेँ । सँगै सुतेका श्रीमान्लाई उठाउन मन लागेन ।

मौनता छाएको मध्यरात, आकाशमा टहटह जून लागिरहेको थियो । ताराहरु झलमल्ल चम्किरहेका थिए । अत्यधिक गर्मी अनुभव गरिरहेकी थिएँ । सन्चो छैन, रात पटक्कै बित्दैन । भित्तामा घडीको सुइ घुमिरहेको छ, तर एकदमै सुस्त । अत्यधिक लम्बियो समय । एक वर्षको रातजस्तो लाग्यो । बल्लतल्ल बिहानीले सङ्केत गर्यो । पूर्व उज्यालियो । मेरो व्यथा भने अझै चर्कियो ।

भित्र–बाहिर गर्दै थिएँ, सासूआमाले उठेर सोध्नुभयो, “के भयो, सावित्रा ?”

मैले भनेँ, “आमा, सन्चो भएन । पेट दुख्यो ।”

“महिना लाग्यो । व्यथा लाग्यो, सावित्रा !”

“आमा, साह्रै दुख्यो !”

“ल हिँड बाहिर, अलि शीतल हुन्छ ।”

सुस्त हिँड्दै हामी रानीतलाउ पुग्यौँ ।

आमाले भन्नुभयो, “एकछिन हिँड त, सावित्रा ! छिटो जन्मिन्छ ।”

रानीतलाउ फन्को मार्दै थिएँ, अत्यधिक दुख्यो । दुखाइले खप्नै भएन । दौडिँदै सात फन्को मारेँ रानीतलाउ । व्यथाले अत्यधिक च्यापेपछि थचक्क बसेँ तलाउ किनारमा । मेरो लामो कपाल फुक्यो । कपालका केही रेशाहरुले मुहार ढाके ।

“मरेँ नि, बाबा ! मरेँ नि, आमा !” मेरो मुखबाट अचानक आवाज निस्कियो ।

मेरो व्यथा महसुस गरेकी सासूआमाले शिथिल हुँदै भन्नुभयो, “भगवान्को नाम लेऊ, सावित्रा !” आमालाई सम्झियो भने झनै गाह्रो हुन्छ । हस्पिटल जाने ?”

मैले बाक्य खोल्नै सकिनँ । मर्ने गरी दाँत किटेँ । कन्ने व्यथा लाग्यो । ‘अह.. अह..’को आवाज चर्कियो ! दिसा–पिसाब लाग्लाजस्तो भयो । चारैतिर झिलिमिली तोरीको फूल देखियो ।

संसारको कुनै नारीले प्रसवपीडा भोग्नु नपरोस् । दुश्मनले पनि नझेलोस् यो पीडा । कहिल्यै पुरmषसँग यौन सम्पर्क राख्दिनँ अबदेखि । यौन सम्बन्धप्रति नै नफरत भयो । पुरुषजाति सम्झिँदा पनि आक्रोशित भएँ । श्रीमानप्रति नै वितृष्णा जाग्यो ।

प्रकृतिको नियमप्रति नै असन्तुष्ट भएँ । सृष्टि संरचनाले हामीमाथि अन्याय गर्यो । दुःखजति स्त्रीजातिले सहनुपर्ने । व्यथाले छट्पटाइरहँदा औडाहा भयो । कतै पासो लगाऊँ जस्तो, एकमुट्ठी विष खाऊँ जस्तो, रानीतलाउमै फालहालूँ जस्तो । खलखली पसिना आयो । ब्लाउज लपक्क भिज्यो । सकस भयो ।

मेरो प्रत्यक्ष पीडा देखेर मेरा श्रीमान्लाई मलाई दुःख दिएछु भन्ने लाग्यो रे ! कताकता गिल्टी फिल भयो रे ! यस्तो दुःख नदिएको भए हुन्थ्यो भन्ने लाग्यो रे ! कहिल्यै नदेखेको व्यथा ।

‘ऐया, मरेँ नि मरेँ !” मेरो पीडादायी आवाज, सुइय सुस्केरा, मर्माहत चीत्कार र ‘अह.. अह..’को कन्ने व्यथासँगै पानीफोको प्वाट्ट फुट्यो । कपडाभरि पानीपानी भयो । धोती–पेटीकोट लपक्कै भिज्यो । सानो योनद्वार फुक्दै गयो ।

कन्दाकन्दै अर्कोपटक कालो कपालसहितको टाउको सेतो जालोभित्र देखियो । फेरि मर्ने गरी कनेपछि बाहिर फुत्त निस्कियो र ‘च्या.. च्या’ रोयो । नवजात शिशुको पहिलो आवाजले रानीतलाउ परिसर नै गुन्जियो । फेरि कनेपछि नाभिसँग जोडिएको साल निस्कियो ।

तिमी लामो समय जलमग्न अन्धकारमा रह्यौ, बन्द घ्याम्पाजस्तोमा । दस महिनासम्म आमाको गर्भभित्रको अन्धकाररुपी जेलमा खुम्चिएर ठूलो सजाय भोग्यौ । आफ्ना दुई हात जोडेर बस्यौ ।

“हे भगवान् ! पार लागाऊ । यो जेलबाट मुक्त गर ।” तिमीले तपस्या गर्यौ । भगवान्सँग आराधना गर्यौ । मानव चोलाको सङ्घर्षको सुरmवात गर्भदेखि नै हुन्छ । तिम्रो पनि भोगाइको सुरmवात भयो । जब बाहिरी संसारमा आयौ, ती सम्पूर्ण आराधना–तपस्या बिस्र्यौ । कैद अवस्था विस्मृत भयो ।

तिमी जलमग्न ठाउँमा गुम्सिएकी थियौ । अन्धकारमा खुम्चिएकी थियौ । न्यानो ठाउँभित्रको दस महिनाको बासपछि यहाँ खुल्ला संसारमा आयौ, मुक्त कैदी छुटेजस्तै गरी । नयाँ वातावरण, नयाँ परिवेश, धर्तीको माटोसँगको मिलाप, जलसँगको सामीप्यता, वायुसँगको स्पर्शता, सूर्यको प्रकाशसँगको ताप, धर्तीसँगको निकटता, आकाशसँगको छहारी, चिसो र तातोसँगको घुलमिल, प्राकृतिक–अप्राकृतिक वातारणको प्रभाव – घुलमिल हँुदै गयौ यस वातावरणसँग ।

तिम्रो संवेदनशील शरीरले स्वीकार्दै गयो यस धर्तीको जल, वायु, अग्नि, आकाश र धर्ती । प्रकृतिसँग शरीरको पञ्चतङ्खव मिल्न गयो । आगमनमा बाँधिएका तिम्रा मुठ्ठी फुके । वरिपरि नवशिशुको रोदन गुन्जियो । तिम्रो रोदन छरछिमेकीले कान थापेर सुने । उनीहरु अचम्मित भए, एकाबिहानै नवशिशुको रोदन ! कसले बच्चा जन्मायो ? छरछिमेकीले कानेखुसी गरे ।

हत्तपत्त हजुरआमाले घडी हेर्नुभयो । बिहानको छ बजेको थियो । नवप्रभातको सुरmवाती र सूर्य उदय हुँदै गरेको समय । बिहानीको लाली चढेको । झुल्किँदो घाम । धर्तीमाता आफ्नै गतिमा । पन्छीहरु आफ्नै भाषामा बात मार्दै गरेका । शान्त वातावरण । रानीतलाउ स्थिर भएर रमिरहेको । वरिपरिका बोटबिरmवाहरुमा हरियाली । रानीतलाउको नीलो दहमा सेताम्मे कमलका फूलहरुले सौन्दर्यता छाएको ।

सप्तरङ्गी फूलहरु फक्रेर हाँसिरहेका, बैँसले मत्ताएको जसरी । रानीतलाउले नवशिशु पाएको प्रभात । एक प्राणीको जन्म भएको त्यो दिन । सासूआमाले नाभि काटेर सालनाल छुट्याउनुभयो । अलिक पर लगेर माटोभित्र पुरियो । तिम्रो नाभि काटेर रानीतलाउ किनारमा गाडियो । जन्मिनासाथ तिमीले आफ्नो चोरीऔँला मुखमा राख्यौ र चुस्यौ । भोकको अनुभूति गर्यौ । उतिखेरै बोल्नेजस्तै गरी टुलुटुलु हेर्यौ ।

कपासजस्तो तिम्रो मासुम शरीर, टाउकामा झपक्कै कालो कपाल, समाउँदै अति संवेदनशील थियौ तिमी । मैले तिमीलाई सुस्त काखमा लिएँ र स्पर्श गरेँ । मलाई संसारकै ठूलो खुसी मिल्यो । आनन्दित भएँ । मेरो मातृङ्खव छचल्कियो । ममा स्नेहको बाढी आयो । तिमीलाई छातीमा टाँसेर राखेँ । न्यानो स्पन्दनसँग साक्षात् गराएँ ।

म आफैँ पनि सन्तुष्टिले तृप्त भएँ । कसरी भनूँ तिमीलाई त्यो अपार सन्तुष्टि ? भवसागर सन्तुष्टि अनुभूति गरेँ । सारा प्रसवपीडा बिर्सिएँ । सालनाल छुट्याएर आमाले एउटा हातले तिमीलाई काखमा लिएर र अर्को हातले मलाई डोर्याउँदै भित्र लैजानुभयो । घरको मूलढोकाले स्वागत गरिरहेको थियो । तिमीलाई लिएर हामी भित्र पस्यौँ ।

आमाले कपडा फेराइदिनुभयो । रातो चौबन्दी चोली, नीलो धोती र पेटीकोट लगाइदिनुभयो । पटुका पनि बाँधिदिनुभयो । तिमीलाई नुहाइधुवाइ गरिदिनुभयो, कटनको सफा कपडामा लपेट्नुभयो, न्यानो बनाउनुभयो र मेरो काखमा राखिदिनुभयो । पहिलो सन्तान थियौ तिमी । मेरा स्तन सुकेका थिए । जति निचरे पनि दूध आएन । ओठ सुकाएर रmन थाल्यौ तिमी भोकले ।

दैला अगाडिकी छिमेकी फरिदा हेर्न आइन्, कुर्ता–सरारा लगाएर र टाउकामा झिलिमिली चुनरी ओढेर । भर्खर दुई सन्तानकी कलिली फरिदा । गोरी र लाम्चो मोहडा उनको । ठूलाठूला आँखामा लामालामा र मोटो झपक्क परेला, लपक्क गाजल लागाएकी, सर्लक्क मिलेको नाक र पातला ओठ । फरिदा नजिकै थ्याच्च बसिन् । भर्खरकी सुत्केरी थिइन् उनी । दूधको धारो लागेको थियो ।

तिमी रोएको देखेर फरिदाले भनिन्, “सावित्रा ! भोक से रो रही है । बेबी को दूध पिलाओ ।”

मैले भनेँ, “फरिदा ! मेरा दूध नही आ रहा है ।”

फरिदाले भनिन्, “पहली बार ऐसा ही होगा । दो–तीन दिन के बाद आएगा । बेबी मुझे दो, मे पिला दुंगी ।”

मैले तिमीलाई सुस्त फरिदाको काखमा दिएँ । फरिदाले काख हालिन् । कुर्ता उठाइन्, भरिलो ठूलो स्तन निकालिन् र टुसुक्क परेका मुन्टा तिम्रो ओठमा लगाइन् । गर्भमै तालिम दिएको जसरी दूधको मुन्टो मुखमा लानासाथ तिमीले आँ गर्यौ । चराले बचेरालाई खुवाएको जस्तो देखियो । तिमीले दूधको मुन्टा ओठ र जिब्रोले चपक्क पार्यौ । च्वाप्पच्वाप पारेर चुस्यौ । घटघट दूध आयो । घुटुघुटु निल्यौ ।

पेट भरियो । भुसुक्कै निदायौ । अचम्मको नियम प्रकृतिको ! जन्मनासाथ दूध पिलाउने अद्भुत कला दिएर पठाउने भगवान्ले । दूध चुस्ने जिब्रो र ओठको भूमिका । यसका लागि चाहिने मेहनत र कला गर्भबाटै सिकेर आइने । प्रकृतिको लीला, सृष्टिको संरचना अपरम्पार छ । कसैले सिकाउनु नपर्ने । भर्खर बनेको आकृतिमै सिपालु । धन्य सृष्टिको संरचना गर्नेलाई । घरछेउकै लुतन खुसी हँुदै आइन् गुलाबी सारीको आँचलले टाउको ढाकेर र हातमा रातो अबिर बोकेर ।

“बधाई देवरजी, बाप बन्ने का अवसर मिला ।” रातै सिन्दूर दलिदिइन् उनले तिम्रा बाबाको मुहारभरि । हाँसोमजाक गरिन्, “देवरजी, अब तो बाप हो गये ! कोही लड्की नहीं देखेगी । बूढे हो गये ।” तिम्रा बाबा लाजले मुसुक्क मुस्कुराउनुभयो ।

मधेसी चलनलाई प्रथामिकता दिइन् लुतनले । देवर–भाभीबीच हँसीमजाक चल्यो । विजय प्राप्त भएजस्तो देखियो तिम्रा बाबाको मुहार । खुसीले गद्गद हुनुभयो ।

बाबाले भन्नुभयो, “हार्दिक धन्यवाद, प्यारी भाभीजान !”

लुतन अन्टीले भनिन्, “स्वागतम्, देवरजी ! आज तो मिठाई बांडना पडेगा खुसियाली में ।”

तिम्रा बाबाले हाँस्दै भन्नुभयो, “सही बात, भाभीजी ! आप ने सम्झाया । मैं मिठाई ले के आउंगा ।”

तिम्रा बाबा त्रिभुवन चोकतिर लाग्नुभयो । लुतनले मलाई सिन्दूरमय बनाइन् । मुस्कुराउँदै भनिन्, “यस शुभ अवसर के लिए बधाई, सावित्रा ! भगवान् ने तेरे को माँ बन्ने का अवसर दिया । पहली बार कन्या दिया । लक्ष्मी सरस्वतीके अवतार है । बेटी तो अधिक प्यार देगी । बेटी उदार होती है । कोमल मन के होती है ।”

लुतनका कुराले मेरा आँखा सजल भए । म भावुक भएँ । हजुरआमालाई पनि सिन्दूर लगाइदिइन् लुतनले । “बधाई दादीमाँ ! यस भूगोलभरका बधाई !” लुतनले अँगालो हालेर भनिन् । आत्मीयता प्रकट गरिन् । हजुरआमाको मुहारमा खुसियाली छचल्कियो ।

लुतनले आतुर हँुदै भनिन्, “सावित्रा, जल्दी से गुडिया के मुहार देखा । आज तो नयाँ आदमी के मुहार देख्ने का सौभाग्य मिला । आज विशेष दिन है ।”

मैले तिम्रो मुहार देखाइदिएँ । लुतनले बीस रुपयाँ दिएर मुख हेरिन् । भनिन्, “कितनी सुन्दर है, बेबी ! भगवान् ने फुर्सद में बनाया । देवरजी के सक्कल है । सावित्रा, तेरे को हरेक सन्तुष्टि मिलेगा बेबी से । कुछ दिन मे बोलेगी, हँसेगी, खेलेगी । छोटे छोटे बात मे खुसी मिलेगा ! बच्चा तो भरोसा हे । सन्तान प्राप्ति जिनेका कला है ।”

लुतनको कुरा सुनेर म मुस्कुराएँ । फरिदा मेरो छेउमै बसिरहेकी थिइन् । लुतनले मसँग सोधिन्, “सावित्रा, दूध आया ?”

मैले भनेँ, “नाइँ, दिदी ! एक बँुद भी नहीं निकला ।”

लुतनले फेरि भनिन्, “फरिदा बेबी के दूध पिला दे ।”

फरिदाले भनिन्, “मैने पिला दिया, लुतन ! भोक से रो रही थी । दूध पिनेके बाद सो गई ।”

लुतनले भनिन्, “अब तो फरिदा धाइआमा हो गई ।”

फरिदाले भनिन्, “सही है, लुतन ! इस्लाम में दूध का नाता गहिरा होगा । दूध का नाता को ज्यादा मानते हंै । रगतके नाता से करिब होगा दूध का नाता । मैं खुस हुँ आज, एक माँ बन्ने मौका मिला । यह रिस्ता जीवनभर रहेगा । जब तक सास रहेगा तब तक । एक पडोसी के नाता । दोस्रा, धाइमाँ के नाता । आज मेरे को भी सौभाग्य मिला धर्ममाँ बन्ने का । धन्य अल्लाह ! धन्य उपरवाले !”

लुतनले भनिन्, “सही बात किया, फरिदा ! यह तो सौभाग्य के बात है धर्ममाँ बन्ने कि । शक्तिशाली नाता है । पडोसी के नाता भी परिवार के नाता से करिब होगा । घर खरिद सकते हैँ । असल पडोसी नहीं खरिद सकते है । हर दुःखसुख में पडोसी करिब होते हे । जन्म के समय में खुसियाली । मर्ने के समयमे मलामी तक पढोसी के भूमिका रहेगा । मानव सामाजिक प्राणी है । समाज से अलग नहीं बैठ सकते है ।”

तिम्री धाइआमा फरिदा । इस्लाम देहबाट दूध पियौ । जीवनको सुरुवातमै सरिफले चुसेको जुठो लाम्टो चुस्यौ । एक तिम्री जन्म दिने आमा, अर्की धाइआमा । दूध पिलाउने फरिदा । एकै जुठो दूध पिएको सरिफ तिम्रो दाजु । फरिदाका सन्तान सबै दाजुभाइ ।

बहुजातीय समाजको फाइदा । हरेक धर्म र जातमा नातागोता । आत्मीयता, घनिष्टता । छाला र मासुको जस्तो सम्बन्ध । धन्य रानीतलाउ, सबै जातजाति धर्मलाई समेटेकोमा । विविधतामा एकता, सयौँ फूल एकै मालामा उनिएको । विविधताले रानीतलाउलाई घुम्टो मारेको, बेहुलीले जस्तै गरी । रङ्गीन घुम्टोभित्र मुहार देखाइरहेकी रानीतलाउ । रङ्गीन घुम्टोले बेहुलीजस्तो सिँगारिदिएको रानीतलाउ ।

रानीतलाउ सेरोफेरोका सबै जना आए । भेट्न आउने छरछिमेकीको लर्को लाग्यो । सबैले नवशिशुको मुख हेरे । उपहार दिए । कसैले भोटो दिए, कसैले कुर्ती–सरवाल दिए र कसैले दौरा सुरुवाल दिए । कसैले पुतलीले लगाउनेजस्तो फ्रक दिए । कतिले पैसा दिएर मुख हेरे । सबैले आ–आफ्नो छिमेकीको कर्तव्य निर्वाह गरे । आत्मीयता प्रकट गरे ।

प्रकाशित मिति : ३ असार २०८०, आइतवार ०६:०७